मुम्बई । मुम्बईस्थित वानखेडे स्टेडियममा जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह 'सी' को दोस्रो खेलमा नेपाल इटलीसँग १० विकेटले पराजित भएको छ। टी-२० विश्वकप इतिहासमै नेपाल पहिलो पटक १० विकेटले हारेको हो।
१२४ रनको सामान्य लक्ष्य पछ्याएको इटलीले १२.४ ओभरमै बिना कुनै क्षति पूरा गर्दै ऐतिहासिक जित दर्ता गर्यो। एन्थोनी मोस्का र जस्टिन मोस्काले अविजित शतकीय साझेदारी गर्दै नेपालको बलिङ आक्रमण निष्प्रभावी बनाएका थिए। पावर-प्ले (६ ओभर) भित्रै ६८ रन जोड्दै उनीहरूले जितको आधार तयार पारेका थिए। दुवैले ११औँ ओभरमा अर्धशतक पूरा गरेका थिए।
नेपालको ब्याटिङ फितलो
टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १९.३ ओभरमा १२३ रनमै अलआउट भयो। इटलीका स्पीनरहरू हावी हुँदा नेपाली ब्याटरहरू दबाबमा देखिए र पूरा २० ओभर खेल्न सकेनन्।
आरिफ शेखले सर्वाधिक २७ रन बनाए। कप्तान रोहित पौडेलले १४ बलमा २ छक्का सहित २३ रन जोडे भने आसिफ शेखले २० रन बनाए। करण केसीले अविजित १८ रनको केमियो इनिङ्स खेले। दीपेन्द्र सिंह ऐरीले १७ रन जोडे।
ओपनर कुशल भुर्तेल ५ रनमै आउट हुँदा नेपालले ८ रनमा पहिलो विकेट गुमाएको थियो। त्यसपछि रोहित र आसिफले ४१ रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने प्रयास गरे पनि ४९ रनको स्कोरमा दुवै आउट भएपछि नेपाल दबाबमा पर्यो। दीपेन्द्र र आरिफबीच चौथो विकेटका लागि ४४ रनको साझेदारी भए पनि ठूलो स्कोरतर्फ लैजान सकेन।
इंग्ल्याण्डविरुद्ध आक्रामक ब्याटिङ गरेका लोकेश बम यस खेलमा ३ रनमै आउट भए। मध्यक्रम धराशायी बनेपछि अन्तिमतिर करण र सन्दीप लामिछानेले २१ रनको साझेदारी गरेका थिए।
इटलीका स्पीनर हावी
इटलीको जितमा स्पीनरहरूको महत्वपूर्ण भूमिका रह्यो। लेगस्पीनर क्रिसन कालुगमागेले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए। अफ–स्पीनर बेन्जामिन मानेन्टीले ४ ओभरमा मात्र ९ रन दिएर २ विकेट लिए। जेजे स्मट्सले १ विकेट लिए भने अली हसन र जसप्रित अलीले १–१ विकेट लिए। एक विकेट रनआउटबाट आयो।
समूह समीकरण
समूह ‘सी’ मा नेपालको यो लगातार दोस्रो हार हो। पहिलो खेलमा इंग्ल्याण्डसँग ४ रनले पराजित भएको नेपाल अंकविहीन छ र सुपर–एट पुग्ने सम्भावना कमजोर बनेको छ। उता, पहिलो खेलमा स्कटल्याण्डसँग पराजित भएको इटलीले विश्वकपमा आफ्नो पहिलो जित दर्ता गरेको छ। यस संस्करणमा डेब्यु गरेको इटलीका लागि यो ऐतिहासिक उपलब्धि हो।
नियमित कप्तान वायन म्याडसन घाइते भएपछि बिहीबार इटलीको कप्तानी ह्यारी मानेन्टीले गरेका थिए। नेपालका लागि अब बाँकी खेल ‘गर या मर’ को अवस्थामा पुगेका छन्। ब्याटिङमा निरन्तरता र बलिङमा सुरुआती सफलताको अभाव सुधार्न सके मात्र टोलीले पुनरागमनको आशा गर्न सक्छ।