गौरमा करदाता सेवा कार्यालय सार्ने प्रयासपछि दिनभर तनाव

२ महिना अगाडि
गौरमा करदाता सेवा कार्यालय सार्ने प्रयासपछि दिनभर तनाव

गौर । रौतहटको गौरस्थित करदाता सेवा कार्यालय सिमरा सार्ने तयारी भएको खबर बाहिरिएपछि शुक्रबार दिनभर गौर बजार क्षेत्र तनावग्रस्त बन्यो । कार्यालयलाई आन्तरिक राजस्व कार्यालय सिमरामा गाभ्ने तयारी भएको सूचना सार्वजनिक भएसँगै स्थानीय व्यापारी, सेवाग्राही र उद्योगी–व्यवसायीहरू विरोधमा उत्रिएका हुन् ।

बिहानैदेखि कार्यालयका फर्निचर, कागजात तथा उपकरण ट्रकमा लोड गरेर सार्न थालिएको देखेपछि स्थानीय व्यवसायीहरूले ट्रक रोकेर अवरोध गरेका थिए। रौतहट उद्योग वाणिज्य संघ का पदाधिकारीसहित दर्जनौँ व्यापारी ट्रकअगाडि धर्नामा बसेपछि अवस्था तनावपूर्ण बनेको थियो। केहीबेर नाराबाजीसमेत भएको थियो ।

विरोध चर्किंदै गएपछि प्रशासनले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको थियो। प्रत्यक्ष झडप भने नभए पनि स्थिति असहज बनेको स्थानीयले बताएका छन्। अन्ततः स्थानीयको दबाबपछि ट्रकमा लोड गरिएका सामग्री पुनः अनलोड गरी कार्यालयमै फिर्ता गरिएको छ।

गौर बजारको केन्द्रभागमा आफ्नै भवनबाट सञ्चालन हुँदै आएको सेवा कार्यालय बिना औपचारिक सूचना वा परामर्श सार्न खोजिएको भन्दै व्यापारीहरूले आक्रोश व्यक्त गरेका छन्। उनीहरूका अनुसार निर्वाचनको पूर्वसन्ध्यामा सेवा केन्द्र हटाइँदा हजारौँ करदाता, लेखापाल र साना व्यवसायी प्रत्यक्ष प्रभावित हुनेछन्।

आन्तरिक राजस्व कार्यालय स्रोतका अनुसार सेवा एकीकरण र प्रशासनिक पुनर्संरचनाअन्तर्गत केही सेवा केन्द्रहरू गाभ्ने तयारी भइरहेको थियो। तर स्थानीय असन्तुष्टिपछि तत्कालका लागि सार्ने प्रक्रिया रोकिएको जनाइएको छ। हाल स्थिति सामान्य बन्दै गएको भए पनि स्थानीय तह र राजस्व प्रशासनबीच सहमति नजुटेसम्म विवाद फेरि चर्किन सक्ने संकेत देखिएको छ।