काठमाडौं । हिन्दू धर्मावलम्बीहरूको महान पर्व महाशिवरात्रि नजिकिँदै गर्दा पशुपति क्षेत्रमा चहलपहल बढ्न थालेको छ। भारतसहित नेपालका विभिन्न स्थानबाट नागा बाबा तथा साधुसन्तहरू काठमाडौं आइपुग्न थालेका छन्। शुक्रबार बिहान उनीहरू विधिवत रूपमा पशुपतिनाथ मन्दिर परिसरमा प्रवेश गरेका हुन्।
महाशिवरात्रिमा पशुपति क्षेत्रमा नागा बाबाको विशेष आकर्षण रहने गर्दछ। जटाधारी, भस्मले शरीर ढाकेका र परम्परागत शैलीमा बसोबास गर्ने नागा साधुहरूका लागि मन्दिर परिसरभित्र छुट्टै व्यवस्थापन मिलाइएको छ। उनीहरूको बसोबास, सुरक्षादेखि स्वास्थ्य सेवासम्मको प्रबन्ध मिलाइएको जनाइएको छ।
पर्वलाई लक्षित गर्दै पशुपति क्षेत्र विकास कोषले तयारी पूरा भएको बताएको छ। कोषका अनुसार यस वर्ष लाखौँ भक्तजन आउने अनुमान गरिएको छ।
भक्तजनलाई वाग्मतीमा स्नान गर्न सहज होस् भन्ने उद्देश्यले धाप ड्याम बाट वाग्मती नदीमा प्रतिसेकेण्ड ४०० लिटर पानी छाडिएको छ। ड्यामबाट छाडिएको पानी पशुपति क्षेत्रमा आइपुग्न करिब १४ घण्टा लाग्ने बताइएको छ। यसले नदीको जलस्तर वृद्धि गरी स्नान तथा धार्मिक अनुष्ठानमा सहजता ल्याउने अपेक्षा गरिएको छ।
महाशिवरात्रिमा अत्यधिक भीड हुने भएकाले सुरक्षाकर्मीहरूको व्यापक परिचालन गरिने तयारी छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वयंसेवक परिचालन गरी मन्दिर प्रवेश, दर्शन लाइन, पार्किङ र भीड व्यवस्थापनलाई प्रभावकारी बनाइने जनाइएको छ। सीसीटीभी निगरानी र आकस्मिक उद्धार टोलीसमेत तयारी अवस्थामा रहनेछन् ।
भीडका कारण सम्भावित स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै अस्थायी स्वास्थ्य शिविर सञ्चालन गरिनेछ। खानेपानी, शौचालय र सरसफाइ व्यवस्थापनका लागि अतिरिक्त जनशक्ति परिचालन गरिएको छ। फोहोर व्यवस्थापनमा स्थानीय तह र सरोकारवाला निकायसँग सहकार्य गरिएको कोषले जनाएको छ।
पर्वको दिन गौशाला, तिलगंगा, चाबहिललगायत क्षेत्रमा सवारी साधन सञ्चालनमा आंशिक प्रतिबन्ध लगाइने तयारी छ। वैकल्पिक मार्गको व्यवस्था र पार्किङ स्थल निर्धारणबारे ट्राफिक प्रहरीले छिट्टै सार्वजनिक सूचना जारी गर्ने जनाएको छ।
महाशिवरात्रि हिन्दू धर्मावलम्बीहरूको विशेष पर्व हो, जस दिन भगवान् शिवको पूजा–आराधना, व्रत, जाग्राम तथा दीपप्रज्वलन गरिन्छ। प्रत्येक वर्ष पशुपतिनाथ क्षेत्रमा लाखौँ भक्तजनको उपस्थिति रहने भएकाले व्यवस्थापन पक्षले यस वर्ष थप समन्वय र पूर्वतयारी गरेको जनाएको छ। सरकार आइतबार सार्वजनिक विदासमेत दिएको छ ।