काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि माघ मसान्तसम्म नेपालले ४० अर्ब २८ करोड ३३ लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता प्राप्त गरेको छ। उद्योग विभागका अनुसार उक्त अवधिमा ५२४ परियोजनामा लगानी स्वीकृत भएको हो।
विभागका तथ्यांकअनुसार सबैभन्दा धेरै लगानी प्रतिबद्धता कृषि क्षेत्रमा आएको छ। सात महिनाको अवधिमा कृषि क्षेत्रका १४ परियोजनामा २१ अर्ब ९० करोड ८० लाख रुपैयाँ लगानी प्रतिबद्धता प्राप्त भएको छ, जुन कुल प्रतिबद्धताको आधाभन्दा बढी हो। कृषि क्षेत्रप्रति विदेशी लगानीकर्ताको चासो बढ्दो क्रममा रहेको संकेत यसले गरेको विभागको भनाइ छ।
पर्यटन क्षेत्रमा १५० परियोजनामा १० अर्ब ८६ करोड २० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ। होटल, रिसोर्ट, साहसिक पर्यटन र सेवा सुविधासम्बन्धी परियोजनामा विदेशी लगानी आकर्षित भएको देखिन्छ। उत्पादनमूलक क्षेत्रमा ३५ परियोजनामा २ अर्ब ४० करोड ६६ लाख ४४ हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको छ भने सेवामूलक ३४ परियोजनामा ३ अर्ब ५४ करोड ८० लाख रुपैयाँ लगानी स्वीकृत भएको छ।
त्यसैगरी सूचना प्रविधिमूलक क्षेत्रमा २८८ परियोजनामा १ अर्ब २५ करोड ९४ लाख ३६ हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको छ। परियोजनाको संख्याका आधारमा सूचना प्रविधि क्षेत्र अग्रस्थानमा रहे पनि लगानी रकमका आधारमा कृषि र पर्यटन क्षेत्र अगाडि देखिएका छन्।
खनिजजन्य दुई परियोजनामा ११ करोड ५० लाख रुपैयाँ र ऊर्जामूलक एक परियोजनामा १८ करोड ४२ लाख ५० हजार रुपैयाँ लगानी प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको छ। माघसम्मको अवधिमा अटोमेटिक रुटमार्फत ३ अर्ब २५ करोड रुपैयाँ र अप्रुभल रुटमार्फत ३७ अर्ब ३ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ।
यो तथ्यांक अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य वृद्धि हो। गत आवको माघसम्म २६ अर्ब ८४ करोड १७ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको थियो। चालु आवमा करिब १३ अर्ब ५० करोड रुपैयाँले वृद्धि भएको देखिन्छ।
विभागका अनुसार माघ मसान्तसम्म वैदेशिक लगानीका कुल ५२५ उद्योग दर्ता भएका छन्। यी परियोजनाबाट हजारौँ प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ। सरकारले वैदेशिक लगानीमैत्री नीतिगत सुधार, स्वीकृति प्रक्रियामा सहजीकरण र लगानी वातावरण सुधारका प्रयास गरिरहेकाले आगामी महिनाहरूमा थप लगानी आकर्षित हुने अपेक्षा गरिएको छ।