निर्वाचनपछि बलियो सरकार बनाउँछौँः रवि लामिछाने

२ महिना अगाडि
निर्वाचनपछि बलियो सरकार बनाउँछौँः रवि लामिछाने

काठमाडौं ४ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आगामी निर्वाचनपछि बलियो सरकार गठन हुने र जनताका समस्या समाधानको नयाँ चरण सुरु हुने विश्वास व्यक्त गरेका छन्। सोमबार चितवनको कालिका नगरपालिका–३ मा स्थानीयसँग भएको छलफल कार्यक्रममा बोल्दै लामिछानेले देशभर रास्वपाको पक्षमा सकारात्मक माहोल बनिरहेको दाबी गरे। उनले जनतामा परिवर्तनको चाहना बलियो रूपमा देखिएको भन्दै त्यसको प्रतिफल आगामी निर्वाचनमा देखिने बताए।

“पहिला चितवनमा अभियान सुरु गर्दा त्यस्तो माहोल थिएन,” लामिछानेले भने, “अहिले जनतामा आशा पलाएको छ। अब बलियो सरकार बन्छ र जनताको समस्या समाधान हुन्छ भन्ने विश्वास जागेको छ।”

यसअघि सरकारमा सहभागी हुँदा जनताको समस्या समाधानका लागि धेरै प्रयास गरिएको तर अपेक्षाअनुसार परिणाम दिन नसकिएको स्वीकार गर्दै उनले अब स्पष्ट दृष्टिकोण र दृढ इच्छाशक्तिसहित अघि बढ्ने प्रतिबद्धता जनाए। “मुखले मात्र होइन, काम गरेर देखाउने राजनीति आवश्यक छ,”उनले जोड दिए।

कार्यक्रमका क्रममा कालिका नगरपालिका–३ का स्थानीयवासीहरूले सुकुम्बासी समस्या समाधानमा पटक–पटक आश्वासन पाए पनि ठोस समाधान नआएको गुनासो गरेका थिए। स्थानीयको ध्यानाकर्षणप्रति प्रतिक्रिया दिँदै लामिछानेले आफू सुकुम्बासी समस्याबारे पहिल्यैदेखि जानकार रहेको र सत्ता प्राप्त भएपछि प्राथमिकताका साथ समाधान खोजिने बताए।

उनले पुराना राजनीतिक दलहरूले लामो समयसम्म समस्या थाती राखेको आरोप लगाउँदै नयाँ राजनीतिक शक्तिले व्यवहारिक र परिणाममुखी काम गर्ने समय आएको धारणा राखे। रास्वपाले नीति, पारदर्शिता र जवाफदेहिताका आधारमा शासन गर्ने उनको दाबी छ।