काठमाडौं ४ फागुन । नेपाली पूँजीबजारमा सोमबार असाधारण घटनाक्रम देखिएको छ। रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको सेयर सूचीकृत भई पहिलो कारोबार हुँदा आईपीओ मूल्यभन्दा ६२.७१ प्रतिशत कम दरमा कारोबार सुरु भएको हो। कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता ८२०.८० रुपैयाँमा आईपीओ जारी गरेको थियो भने पहिलो दिन अधिकतम २ प्रतिशत बढेर मूल्य ३०६ रुपैयाँमा सीमित रह्यो।
आईपीओ मूल्यको तुलनामा करिब ६३ प्रतिशत घाटामा बिक्री हुनु सामान्य बजार व्यवहार नभएको भन्दै बजारमा विभिन्न आशंका उब्जिएका छन्। स्रोतहरूका अनुसार नियोजित रूपमा न्यून मूल्यमा कारोबार सुरु गराएर पछि मूल्य बढाउने रणनीति हुन सक्ने संकेत देखिएको छ।
नेपाल स्टक एक्सचेन्ज नेप्सेका केही अधिकारीहरूले यस्तो गतिविधि बजार हेरफेरको श्रेणीमा पर्न सक्ने बताएका छन्। उनीहरूका अनुसार कुनै पनि सूचीकृत कम्पनीको मूल्य प्रभावित पार्ने उद्देश्यले ठूलो घाटा सहेर बिक्री गर्नु गैरकानुनी मानिन्छ र प्रमाणित भए कडा कारबाही हुन सक्छ।
कारोबार बन्द हुँदासम्म करिब ११ लाख कित्ता खरिद आदेश देखिँदा बिक्रीतर्फ शून्य अर्डर थियो। उच्च माग र न्यून आपूर्तिले आगामी दिनमा मूल्य क्रमशः बढ्ने सम्भावना देखिए पनि, दैनिक २ प्रतिशतकै दरले बढे आईपीओ मूल्यमा पुग्न झण्डै ५० कारोबार दिन लाग्ने अनुमान गरिएको छ।
यस घटनाले नेपाल धितोपत्र बोर्ड सेबोनको भूमिकामाथि पनि प्रश्न उठाएको छ। महँगो मूल्यमा आईपीओ स्वीकृतिको निर्णय र त्यसपछिको बजार अवस्थाबारे छानबिन हुनुपर्ने माग लगानीकर्ताले उठाएका छन्। पूँजीबजारको पारदर्शिता र विश्वसनीयता जोगाउन नियामक निकायको भूमिकामाथि अब सबैको नजर छ।