काठमाडौँ ४ फागुन । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेशले अहिलेसम्म निर्वाचनमा मताधिकार प्रयोग गरे पनि अपेक्षित न्याय र अधिकार नपाएको टिप्पणी गरेका छन्। सोमबार भिडिओ वक्तव्य जारी गर्दै उनले मधेशको मुद्दा अब निर्णायक मोडमा पुगेको बताए।
नेपाली कांग्रेस मधेश प्रदेश समितिका सभापतिसमेत रहेका यादवले विगतमा कांग्रेस नेतृत्वमा सरकार बने पनि मधेशका अपेक्षाअनुसार न्याय दिलाउन नसकिएको स्वीकार गरे। उनले यसपटक भने कांग्रेसले मधेशलाई चुनावी एजेन्डाकै रूपमा लिएर न्याय दिलाउने अठोट गरेको दाबी गरे।
अहिलेसम्म मधेशले चुनावमा भोट मात्रै हाल्यो, तर न्याय पाएन, उनले भने,“यसपटक कांग्रेसले मधेशका मुद्दा बुझ्न र समाधानका लागि जनकपुरमा चुनावी सभा आयोजना गरेको हो।
मुख्यमन्त्री यादवले केन्द्रीय नेताको सक्रियताले मधेशको पहिचान र सम्मान बलियो बनेको उल्लेख गर्दै गगन थापा को उम्मेदवारीले मधेशको शान र आत्मविश्वास फर्काएको दाबी गरे। उनले मधेशका सबै ३२ सिटमा कांग्रेसलाई जिताउन जनकपुरमा चुनावी सभा आयोजना गरिएको जानकारी दिए।
यादवले मधेशको उर्वरा भूमि, पहिचान र संघीयताको सफल कार्यान्वयनका लागि कांग्रेसको जित अपरिहार्य रहेको दाबी गर्दै संघीयताको मर्म कांग्रेसले मात्रै व्यवहारमा उतार्न सक्ने बताए। मधेशमा इतिहास रच्न कांग्रेस उम्मेदवारका लागि यो चुनाव निर्णायक छ,”उनले भने।