अधिकार र विकासलाई चुनावी एजेन्डा बनाएर उपेन्द्र यादव घरदैलोमा

२ महिना अगाडि
अधिकार र विकासलाई चुनावी एजेन्डा बनाएर उपेन्द्र यादव घरदैलोमा

काठमाडौं ४ फागुन। संविधान संशोधन र बाँकी अधिकार सुनिश्चित गर्ने मुद्दालाई केन्द्रमा राख्दै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा सदस्य निर्वाचनको औपचारिक प्रचार–प्रसार सुरु गरेका छन्।

फागुन २१ मा हुनलागेको निर्वाचनका लागि सप्तरी–३ बाट उम्मेदवार रहेका यादवले सोमबारदेखि घरदैलो अभियान थालेका हुन्। विकासका हिसाबले पछाडि परेको क्षेत्र मानिने डाक्नेश्वरी नगरपालिकाबाट अभियान सुरु गर्दै उनले मतदातासँग संविधान संशोधनमार्फत अधिकार प्रत्याभूत गराउने र विकासका कामलाई तीव्रता दिने प्रतिबद्धतासहित भोट मागिरहेका छन्।

जनता समाजवादी पार्टी नेपाल का सचिव तथा निर्वाचन परिचालन समितिका संयोजक शैलेन्द्रप्रसाद साह का अनुसार पहिलो दिन अध्यक्ष यादव डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर ७ अन्तर्गत मझौरा, ब्रह्मपुर, सिंगिया तथा वडा नम्बर १ का कविलासा र मधुवनीलगायतका गाउँमा घरदैलोमा पुगेका छन्।

घरदैलोका क्रममा यादवले संविधान कार्यान्वयन अधुरो रहेको उल्लेख गर्दै मधेशका नागरिकले पाउन बाँकी अधिकार सुनिश्चित गर्न संविधान संशोधन अपरिहार्य भएको बताए। साथै उनले विकास, पूर्वाधार र सेवा प्रवाहलाई स्थानीय तहसम्म प्रभावकारी रूपमा लैजान आफ्नो उम्मेदवारी निर्णायक हुने दाबी गरे।

अभियानमा पूर्वमन्त्री रेणुकुमारी यादव, केन्द्रीय सदस्य विदेश्वरप्रसाद यादवलगायत जसपाका नेताहरू सहभागी छन्। सप्तरी–३ निर्वाचन क्षेत्रमा विष्णुपुर, रूपनी, राजगढ गाउँपालिका तथा शम्भुनाथ र डाक्नेश्वरी नगरपालिका पर्दछन्। यस क्षेत्रमा कुल १ लाख ११ हजार ८ सय ७१ मतदाता रहेका छन्।