दिल्ली । दविश्व ऊर्जा क्षेत्र तीव्र रूपान्तरणको चरणमा छ। स्वच्छ तथा नवीकरणीय ऊर्जातर्फको परिवर्तन अब विकल्प मात्र नभई आवश्यकता बनिसकेको छ। यही परिप्रेक्ष्यमा लर्डस् मार्क इन्डस्ट्रिजले ग्रिन्जो इनर्जी इण्डिया लिमिटेडसँग महत्वपूर्ण समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेको छ ।
यस सहकार्यअन्तर्गत भारतको उत्तर प्रदेशका प्रमुख शहरहरू गोरखपुर, अलिगढ, झाँसी र लखनउमा ६० मेगावाट क्षमताका उन्नत हरित हाइड्रोजन परियोजनाहरू विकास गर्ने भएकाे छ ।
परियोजनामा आधुनिक प्रविधिमा आधारित हरित हाइड्रोजन उत्पादनसँगै सोलार रूफटप प्रणालीलाई ब्याट्री ऊर्जा सञ्चय प्रणालीसँग एकीकृत गरिने ग्रिन्जो इनर्जीका प्रबन्ध निर्देशक सन्दीप अग्रवालले जानकारी दिएका छन् । यो सबै परियोजनाका लागि २,००० करोड भारतीय रुपैयाँभन्दा बढी लगानी गर्ने विस्तृत लगानी मार्गचित्र (रोडम्याप) तयार गरिएको छ।
यस पहलबाट वार्षिक करिब ४५० करोड भारु आम्दानी हुने प्रक्षेपण गरिएको छ, जसले प्रदेशको ऊर्जा आत्मनिर्भरता र औद्योगिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
सम्झौताअनुसार लर्ड्स मार्क इन्डस्ट्रिज प्रमुख लगानीकर्ताको भूमिकामा रहनेछ भने ग्रीनजो एनर्जी विशेष प्रविधि साझेदारका रूपमा संलग्न हुनेछ। दुबै कम्पनीले परियोजनाको योजना निर्माणदेखि उत्पादन, भण्डारण र वितरणसम्म सम्पूर्ण मूल्य शृंखलामा ‘एन्ड–टु–एन्ड’ कार्यान्वयन सुनिश्चित गर्ने बताएका छन् ।
कम्पनीहरूले यस परियोजनालाई केवल ऊर्जा उत्पादनको कार्यक्रम मात्र नभई दिगो विकास, हरित अर्थतन्त्र विस्तार तथा स्वच्छ ऊर्जा भविष्यतर्फको ठोस कदमका रूपमा लिएका छन् ।