१२ वर्षको खडेरी तोड्ने लक्ष्यमा नेपाल, आज स्कटल्यान्डसँग अन्तिम संघर्ष

२ महिना अगाडि
१२ वर्षको खडेरी तोड्ने लक्ष्यमा नेपाल, आज स्कटल्यान्डसँग अन्तिम संघर्ष

काठमाडौँ ५ फागुन । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल आज स्कटल्यान्डसँग भिड्दैछ। खेल मुम्बईस्थित वानखेडे स्टेडियम मा मंगलबार साँझ ७ः१५ बजे सुरु हुनेछ।

सुरुवाती तीनवटै खेलमा पराजय भोगेको नेपाली टोलीका लागि यो खेल सान्त्वना मात्र नभई १२ वर्षदेखिको विश्वकप जितको खडेरी तोड्ने महत्वपूर्ण अवसर पनि हो। नेपालले सन् २०१४ मा अफगानिस्तानलाई हराएपछि टी–२० विश्वकपमा कुनै पनि खेल जित्न सकेको छैन। यस संस्करणमा पहिलो खेलमा इंग्ल्यान्डविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै जितको नजिक पुगे पनि अन्ततः पराजित भएको थियो भने त्यसपछि आएका दुई खेलमा नेपाल एकपक्षीय रूपमा हार्न पुगेको थियो।

नेपाली टोलीका कन्सल्ट्यान्ट प्रशिक्षक निक पोथसले स्कटल्यान्डविरुद्ध जित निकाल्दै प्रतियोगिता सकारात्मक सन्देशसहित टुंग्याउने लक्ष्य रहेको बताएका छन्। उनले बारम्बार दोहोरिने गल्ती सुधार गर्दै खेलाडीहरूले प्रतिस्पर्धात्मक क्रिकेट देखाउनुपर्नेमा जोड दिएका छन्।

यता स्कटल्यान्डका अनुभवी खेलाडी टम ब्रुसले नेपाललाई हल्का रूपमा नलिने स्पष्ट पारेका छन्। उनले इंग्ल्यान्डविरुद्ध नेपालको प्रदर्शन विश्वकपकै ठूलो अपसेट हुन सक्ने खालको रहेको उल्लेख गर्दै नेपाली समर्थकहरूको उत्साहको प्रशंसा गरेका छन्।

आईसीसी टी–२० आई वरियतामा स्कटल्यान्ड १४औँ र नेपाल १६औँ स्थानमा छन्। दुवै टोलीबीच हालसम्म दुई टी–२० अन्तर्राष्ट्रिय खेल भएका छन्, जहाँ दुवैले एक–एक खेल जितेका छन्। यसले आजको खेललाई थप रोमाञ्चक बनाएको छ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरी, आरिफ शेख र सन्दीप लामिछाने प्रभाव पार्न सक्ने खेलाडी मानिन्छन् भने स्कटल्यान्डका जर्ज मन्से र ब्रान्डन म्याकमुलेन मुख्य चुनौतीका रूपमा रहनेछन्। साफ मौसमको पूर्वानुमानबीच डिउको सम्भावित प्रभावसँगै नेपाल जितसहित विश्वकप यात्रा टुंग्याउने लक्ष्यसाथ मैदान उत्रनेछ।