काठमाडौं ५ फागुन । रामचन्द्र पौडेल ले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन सबै राजनीतिक दल, सरोकारवाला निकाय र आम मतदातालाई सक्रिय सहभागिताका लागि आह्वान गरेका छन्। ग्याल्पो ल्होछारको अवसरमा नेपाल शेर्पा सङ्घले मंगलबार शीतल निवासमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उनले लोकतन्त्रमा जनताको अभिमत व्यक्त गर्ने सबैभन्दा प्रभावकारी माध्यम निर्वाचन नै भएको उल्लेख गरे।
राष्ट्रपति पौडेलले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्नु सबैको साझा दायित्व भएको बताए। उनले नेपालको मौलिक चाडपर्वले आपसी सद्भाव, एकता, मित्रता र भ्रातृत्व अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको धारणा राख्दै राष्ट्रिय एकताको भावनालाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए।
उनका अनुसार सुशासन र समृद्धि नै शान्ति, स्थायित्व र दिगो विकासका आधार हुन्। हिमाल, पहाड र तराईको विविधतायुक्त भूगोल र संस्कृतिले नेपाललाई विशेष पहिचान दिएको उल्लेख गर्दै उनले शेर्पा समुदायले आफ्नो विशिष्ट परम्परा, संस्कृति र सभ्यतामार्फत देशको गौरव बढाएको बताए।
शताब्दीयौँदेखि हिमाली क्षेत्रबाट फैलिएको शेर्पा समुदायले विश्वभर नेपालको प्रतिष्ठा उकास्न उल्लेखनीय भूमिका खेलेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले आगामी फागुन ६ गते मनाइने ग्याल्पो ल्होछारले सबैमा नयाँ ऊर्जा र सकारात्मक सन्देश ल्याओस् भन्ने कामना गरे।