रुपन्देही ५ फागुन । निर्वाचन नजिकिँदै जाँदा रुपन्देहीमा निर्वाचन आचारसंहिताको कार्यान्वयनमै प्रश्न उठ्ने अवस्था देखिएको छ। केही सरकारी विद्यालयका शिक्षकहरू दलीय प्रचार–प्रसारमा संलग्न भएको आरोप सार्वजनिक भएपछि सरोकारवालाहरूले छानबिनको माग गरेका छन्।
निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता २०८२को परिच्छेद ३, बुँदा १० (९) अनुसार सरकारी तलब–भत्ता खाने कर्मचारी, शिक्षक तथा सार्वजनिक पदधारी व्यक्तिले कुनै दल वा उम्मेदवारको पक्षमा प्रचार–प्रसार गर्न नपाउने स्पष्ट व्यवस्था छ। तर रुपन्देहीका केही शिक्षकहरू खुला रूपमा चुनावी गतिविधिमा देखिएको भन्दै सामाजिक सञ्जालदेखि स्थानीय तहसम्म आलोचना बढेको हो।
आरोप लागेकामध्ये शान्ति नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछाने, कान्ति माध्यमिक विद्यालयका शिक्षक दिलिप बेलबासे तथा कालिका माध्यमिक विद्यालयका शिक्षक श्याम श्रेष्ठ विभिन्न दल र उम्मेदवारको पक्षमा सक्रिय देखिएको दाबी गरिएको छ। उनीहरूको संलग्नतासम्बन्धी तस्बिर तथा विवरण सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विषयले थप चर्चा पाएको हो।
स्थानीय अभिभावक तथा नागरिक अगुवाहरूले शिक्षा क्षेत्रजस्तो संवेदनशील निकायमा कार्यरत व्यक्तिहरू नै दलीय प्रचारमा देखिनु निर्वाचनको निष्पक्षता र तटस्थतामाथि गम्भीर प्रश्न हुने बताएका छन्। “विद्यालय राजनीतिक प्रभावबाट टाढा रहनुपर्छ,” एक स्थानीय सरोकारवाला भन्छन्, “नत्र विद्यार्थी र समुदायमा गलत सन्देश जान्छ। यद्यपि सम्बन्धित शिक्षकहरूबाट औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन। अब सम्बन्धित शिक्षा तथा निर्वाचन निकायले आरोपबारे छानबिन गरी आवश्यक कदम चाल्ने कि नचाल्ने भन्ने विषयमा स्थानीयस्तरमा चासो बढेको छ।