काठमाडौं ५ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ का मतदातामाझ मंगलबार आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। ‘सुखी नेपाली, समृद्ध नेपाल’को राष्ट्रिय लक्ष्यलाई मूल आधार मानेर तयार गरिएको प्रतिबद्धता पत्रमा राजनीतिक स्थायित्व, सुशासन, भ्रष्टाचार नियन्त्रण र भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ।
प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा बोल्दै ओलीले विगतका अस्थिर सरकारका कारण मुलुकले आर्थिक, नीतिगत र प्रशासनिक रूपमा ठूलो क्षति बेहोर्नुपरेको दाबी गरे। उनले अब देशलाई स्थिर सरकार र स्पष्ट नीतिगत दिशाको आवश्यकता रहेको उल्लेख गर्दै त्यसका लागि नेकपा एमाले सक्षम शक्ति भएको बताए।
नेपाल कम्युनिष्ट पार्टी एमालेले पछिल्लो समय राजनीतिमा देखिएको ‘स्टन्टबाजी’ र ‘पपुलिस्ट’ प्रवृत्तिले जनतालाई भ्रममा पारेको आरोप लगाउँदै यस्ता गतिविधिले दीर्घकालीन विकासमा अवरोध पुर्याउने जनाएको छ। प्रतिबद्धता पत्रमा सडक, पुल, ऊर्जा, शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनालाई जोड दिइएको छ।
ओलीले झापा–५ लाई पूर्वाधार, कृषि र औद्योगिक विकासको नमूना क्षेत्र बनाउने प्रतिबद्धता जनाउँदै मतदातासँग स्थिरता र विकासका लागि एमालेको पक्षमा मतदान गर्न आग्रह गरे। स्थानीय मतदाताले भने विकास र स्थायित्वका विषयमा स्पष्ट योजनासहित आएको प्रतिबद्धतालाई चासोका साथ हेरिएको प्रतिक्रिया दिएका छन्।