बंगलादेशमा बीएनपी नेतृत्वमा नयाँ सरकार गठन, स्थायित्वतर्फ नयाँ संकेत

एक महिना अगाडि
बंगलादेशमा बीएनपी नेतृत्वमा नयाँ सरकार गठन, स्थायित्वतर्फ नयाँ संकेत

काठमाडौं ५ फागुन । बंगलादेशमा करिब १६ महिनापछि निर्वाचित नयाँ सरकार गठन भएको छ। हालै सम्पन्न आम निर्वाचनमा स्पष्ट बहुमत प्राप्त गरेको बंगलादेश नेसनलिस्ट पार्टी बीएनपीको नेतृत्वमा सरकार बनेको हो। बीएनपीका नेता तारिक रहमान प्रधानमन्त्री नियुक्त भएका छन्। उनलाई राष्ट्रपति मोहम्मद शाहाबुद्दिनले ढाकास्थित संसद् भवनमा पद तथा गोपनीयताको शपथ गराएका हुन्।

निर्वाचनपछि बसेको संसदीय दलको बैठकले तारिक रहमानलाई सर्वसम्मत रूपमा नेता चयन गरेको थियो। बीएनपीले संसद्मा दुई–तिहाइभन्दा बढी सिट जितेको दाबी गर्दै यो जनादेशलाई स्थिर सरकार निर्माणका लागि स्पष्ट समर्थनका रूपमा व्याख्या गरेको छ। लामो राजनीतिक अस्थिरता र संक्रमणपछि बनेको यस सरकारले मुलुकमा स्थायित्व ल्याउने अपेक्षा गरिएको छ।

६० वर्षीय रहमान पूर्व राष्ट्रपति जिउर रहमान र पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाका छोरा हुन्। उनको नेतृत्वलाई समर्थकहरूले निर्णायक र सुधारमुखी भन्दै स्वागत गरेका छन्। आलोचकहरूले भने विगतका राजनीतिक विवाद स्मरण गर्दै पारदर्शिता र सुशासनमा विशेष ध्यान दिनुपर्ने बताएका छन्।

शपथपछिको सम्बोधनमा प्रधानमन्त्री रहमानले राष्ट्रिय एकता, लोकतान्त्रिक मूल्यको सुदृढीकरण, आर्थिक सुधार र रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्ने बताएका छन्। उनले राजनीतिक विभाजन अन्त्य गरी विकास–केन्द्रित शासन सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नयाँ सरकार गठनसँगै आर्थिक क्षेत्र र लगानी वातावरणमा सकारात्मक सन्देश गएको विश्लेषण गरिएको छ। यद्यपि, अर्थतन्त्र सुधार, मूल्यवृद्धि नियन्त्रण र सामाजिक समावेशिताजस्ता चुनौती सरकारका अगाडि प्रमुख परीक्षा हुनेछन्। नयाँ नेतृत्वले यी चुनौतीलाई कसरी सम्बोधन गर्छ भन्ने विषयमा अहिले सबैको ध्यान केन्द्रित भएको छ।