टी–२० विश्वकप

१२ वर्षपछि विश्वकपमा नेपालको ऐतिहासिक जित

एक महिना अगाडि
१२ वर्षपछि विश्वकपमा नेपालको ऐतिहासिक जित

मुम्बई । आईसीसी टी-२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले १२ वर्षपछि बहुप्रतीक्षित जित दर्ता गरेको छ। समूह 'सी' अन्तर्गत मंगलबार सम्पन्न आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्यान्डलाई ७ विकेटले हराउँदै विश्वकप यात्रालाई सुखद् अन्त्य दिएको हो ।

नेपालले यसअघि सन् २०१४ मा बंगलादेशमा सम्पन्न विश्वकपमा दुई जित हात पारेको थियो । त्यसयता विश्वकपमा जितविहीन रहँदै आएको नेपालले लामो प्रतीक्षापछि पुनः विजयी स्वाद चाखेको हो।

मुम्बईस्थित वानखेडे मैदानमा सम्पन्न खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालले स्कटल्यान्डलाई २० ओभरमा ७ विकेटको क्षतिमा १७० रनमा सीमित गर्‍यो । १७१ रनको प्रतिस्पर्धात्मक लक्ष्य नेपालले ४ बल अगावै ३ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालका लागि कुशल भुर्तेलले ४३ रनको आक्रामक सुरुआत दिए । उनले ३५ बलमा ६ छक्का प्रहार गर्दै स्कोरलाई तीव्र गतिमा अघि बढाए । आशिफ शेखले ३३ रन जोडे भने कप्तान रोहित पौडेलले १६ रन बनाए ।

तर खेलको निर्णायक मोड चौथो विकेटका लागि दीपेन्द्र सिंह ऐरी र गुल्सन झाले बनाएको ७३ रनको अविजित साझेदारी रह्यो । दीपेन्द्रले २३ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे। यो जारी विश्वकपमा उनको लगातार दोस्रो अर्धशतक हो। गुल्सन झाले १७ बलमा २४ रन जोड्दै उत्कृष्ट साथ दिए।

स्कटल्यान्डका ओपनर जर्ज मुन्से र माइकल जोन्सले पहिलो विकेटका लागि ८० रनको साझेदारी गर्दै उत्कृष्ट सुरुआत दिलाएका थिए। माइकल जोन्सले ७१ रनको प्रभावशाली इनिङ्स खेले।

तर मध्यक्रममा नेपालले खेलमा पुनरागमन गर्‍यो। सोमपाल कामीले महत्वपूर्ण तीन विकेट लिँदै स्कटल्यान्डको रनगति नियन्त्रणमा राखे। नन्दन यादवले दुई विकेट लिए भने रोहित पौडेल र कुशल भुर्तेलले समान एक विकेट हात पारे। नेपालले अन्तिम १० ओभरमा स्कटल्यान्डको स्कोर अपेक्षित गतिमा बढ्न नदिँदा लक्ष्य सीमित दायरामै रह्यो।

नेपाल समूह चरणका अघिल्ला खेलहरूमा इंग्ल्यान्डसँग ४ रनले, इटालीसँग १० विकेटले र वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएको थियो । अन्तिम खेलमा जित निकाले पनि नेपाल सुपर–८ चरणमा प्रवेश गर्न सकेन ।

समूह ‘सी’ बाट वेस्ट इन्डिज र इंग्ल्यान्डले सुपर–८ मा स्थान बनाउँदा नेपाल, स्कटल्यान्ड र इटाली समूह चरणबाट बाहिरिए।

नेपालले सन् २०१४ मा पहिलोपटक विश्वकप खेल्दा हङकङ र अफगानिस्तानमाथि जित निकालेको थियो। त्यसपछि लामो समयसम्म विश्वकपमा जितविहीन रहेको नेपालले १२ वर्षपछि पुनः आफ्नो क्षमता प्रमाणित गरेको छ।

यो जित केवल शान्त्वना मात्र होइन, युवा खेलाडीहरूको आत्मविश्वास, मध्यक्रमको स्थिरता र डेथ ओभरमा प्रभावकारी बलिङको संकेत पनि हो। विशेषतः दीपेन्द्र सिंह ऐरीको लगातार उत्कृष्ट प्रदर्शनले नेपालको टी–२० संरचनामा नयाँ भरोसा थपेको छ।

विश्वकपबाट बाहिरिए पनि नेपालले अन्तिम खेलमार्फत सकारात्मक सन्देश दिएको छ—नेपाल अब प्रतिस्पर्धी टोलीका रूपमा स्थापित हुँदैछ। आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा यो लय कायम राख्न सके नेपालले ठूला टोलीहरूलाई चुनौती दिन सक्ने संकेत देखिएको छ।