काठमाडौं ६ फागुन । अरनिको राजमार्गअन्तर्गत बनेपा क्षेत्रमा टिपरको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ । दुर्घटनापछि क्षेत्र तनावग्रस्त बनेको छ भने आक्रोशित स्थानीयले ठक्कर दिने टिपरमा आगजनी गरेका छन् ।
दूरसञ्चार कार्यालय नजिकै बुधबार बिहान भएको दुर्घटनामा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा एक जना घाइते भएका छन् । बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२–०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
घटनापछि स्थानीय बासिन्दाले दोषी चालकलाई कारबाहीको माग गर्दै प्रदर्शन सुरु गरेका छन् । प्रदर्शनका क्रममा टिपरमा आगजनी भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । हाल अरनिको राजमार्ग अवरुद्ध भएको छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ ।
प्रहरीका अनुसार घटनाबारे अनुसन्धान सुरु गरिएको छ । स्थिति सामान्य बनाउन प्रयास जारी रहेको र प्रदर्शन शान्तिपूर्ण बनाउन स्थानीयसँग समन्वय भइरहेको बताइएको छ ।