काठमाडौं ६ फागुन । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै स्याङ्जामा बालबालिकाको संरक्षण र अधिकार सुनिश्चित गर्न संयुक्त अपिल गरिएको छ। जिल्ला बाल सञ्जाल स्याङ्जाले उम्मेदवारका घोषणापत्रमा बालअधिकारसम्बन्धी स्पष्ट प्रतिबद्धता समेट्न र चुनावी गतिविधिमा बालबालिकाको प्रयोग नगर्न आग्रह गरेको हो।
सञ्जालले सात बुँदामा ३१ प्रकारका माग अघि सार्दै बालबालिकाको सर्वोपरि हितलाई प्राथमिकता दिनुपर्ने जनाएको छ। निर्वाचन प्रचारप्रसार, जुलुस, नाराबाजी, डिजिटल अभियान, पोस्टर वितरणजस्ता कुनै पनि राजनीतिक गतिविधिमा बालबालिकालाई संलग्न नगराउनुपर्नेमा विशेष जोड दिइएको छ।
उम्मेदवारहरूले निःशुल्क तथा गुणस्तरीय शिक्षाको प्रभावकारी कार्यान्वयन, विद्यालयलाई शान्ति क्षेत्रका रूपमा व्यवहारमा उतार्ने पहल तथा नीति–बजेट निर्माण प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने विषय घोषणापत्रमा समेट्नुपर्ने सञ्जालको माग छ।
त्यसैगरी अपांगता भएका तथा पछाडि परेका बालबालिकाका लागि समावेशी शिक्षाको वातावरण निर्माण गर्न, जोखिममा रहेका बालबालिकाको संरक्षण सुदृढ गर्न र बालगृहलाई आवश्यक सहयोग उपलब्ध गराउन पनि आग्रह गरिएको छ।