रास्वपाभित्र आन्तरिक असन्तुष्टि चुलिँदै, मधेशकी संस्थापक सभापति शर्माद्वारा पार्टी परित्याग

एक महिना अगाडि
रास्वपाभित्र आन्तरिक असन्तुष्टि चुलिँदै, मधेशकी संस्थापक सभापति शर्माद्वारा पार्टी परित्याग

काठमाडौं ६ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाभित्र आन्तरिक असन्तुष्टि चुलिँदै गएको संकेत गर्दै मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले पार्टी परित्याग गरेकी छन्। पार्टीमा इमानदार नेताहरूको मूल्यांकन नहुने र आर्थिक अनियमितता बढेको आरोप लगाउँदै उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको घोषणा गरेकी हुन्।

हाल केन्द्रीय महिला तथा सामाजिक विकास विभागकी सदस्यसमेत रहेकी शर्माले बुधबार विज्ञप्ति जारी गर्दै पार्टीका निर्णयहरू आर्थिक प्रभावबाट प्रेरित हुन थालेको दाबी गरेकी छन्। “आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरू प्रभावित भएको देख्दा मेरो आत्मसम्मान र राजनीतिक मूल्यहरूमाथि आँच पुगेको महसुस भएको छ,” उनले विज्ञप्तिमा उल्लेख गरेकी छन्। यस्ता गतिविधिको साक्षी बसेर मौन रहन नसक्ने भन्दै उनले तत्काल लागू हुने गरी राजीनामा दिएको स्पष्ट पारेकी छन्।

शर्माको राजीनामालाई रास्वपाभित्र बढ्दो असन्तुष्टिको निरन्तरता रूपमा हेरिएको छ। यसअघि पनि उम्मेदवार छनोट र टिकट वितरण प्रक्रियामा आर्थिक चलखेल भएको आरोप लगाउँदै केही नेताहरूले पार्टी छोडेका थिए। पछिल्लो घटनाले पार्टीभित्र पारदर्शिता र आन्तरिक लोकतन्त्रको प्रश्न फेरि उठाएको छ।

विश्लेषकहरूका अनुसार नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपाले सुशासन, पारदर्शिता र वैकल्पिक राजनीति गर्ने प्रतिबद्धता जनाएको थियो। तर नेतृत्व तहबाटै आर्थिक अनियमितताको आरोप सार्वजनिक हुनुले पार्टीको छवि र संगठनात्मक एकतामाथि चुनौती खडा गरेको छ।

यद्यपि, पार्टी नेतृत्वले शर्माले लगाएका आरोपबारे औपचारिक प्रतिक्रिया दिएको छैन। पार्टीका केही नेताहरूले भने आन्तरिक छलफलमार्फत विषय समाधान गरिने बताएका छन्। आगामी निर्वाचनको तयारीका बीच आएको यो घटनाले मधेश प्रदेशमा पार्टीको संगठन र रणनीतिमा असर पार्ने आँकलन गरिएको छ।