धनगढीमा बालेन शाहको सन्देश–भोट होइन, सुदूरपश्चिम बनाउन काम चाहियो

एक महिना अगाडि
धनगढीमा बालेन शाहको सन्देश–भोट होइन, सुदूरपश्चिम बनाउन काम चाहियो

काठमाडौं ६ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन शाह ले सुदूरपश्चिम विकासका लागि नयाँ राजनीतिक दृष्टिकोण अघि सारेका छन् । बुधबार कैलालीको धनगढी मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले पार्टी भोट माग्न नभई जनताबाट कामको सूची लिन आएको स्पष्ट पारे ।

सभामा बोल्दै शाहले सुदूरपश्चिमलाई ‘सु–नजिक प्रदेश’ बनाउनु आजको आवश्यकता रहेको बताए । भौगोलिक दूरी, अवसरको असमानता र विकासको अभावका कारण पछाडि परेको सुदूरपश्चिमलाई नजिक ल्याउन ठोस योजना र जनसहभागिताको खाँचो रहेको उनको भनाइ थियो ।
‘हामी यहाँ भोट माग्न आएका होइनौँ । तपाईंहरूका समस्या, आवश्यकता र कामको सूची लिन आएका हौँ,’ उनले भने, ‘भोट नदिए पनि हुन्छ, काम दिनुस् ।’

शाहले परम्परागत चुनावी भाषणभन्दा फरक शैली अपनाउँदै राजनीतिक संस्कार परिवर्तन गर्नुपर्नेमा जोड दिए । उनले मतदातालाई केवल चुनावका बेला सम्झने प्रवृत्तिको आलोचना गर्दै काम र परिणामका आधारमा राजनीति हुनुपर्ने धारणा राखे ।
‘यदि तपाईंहरूले भोट दिनुभएन भने पनि रास्वपाले सुदूरपश्चिम बनाउँछ,’ उनले भने, ‘हाम्रा उम्मेदवारलाई कामको स्पष्ट लिस्ट दिनुस्, हामी त्यसैको आधारमा काम गर्छौँ ।

उनका अनुसार सुदूरपश्चिमको विकासका लागि पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी र सुशासन मुख्य प्राथमिकता हुन् । स्थानीयस्तरका समस्या पहिचान गरेर केन्द्रसम्म पुर्‍याउने र समाधानका लागि दबाब सिर्जना गर्ने रास्वपाको रणनीति रहेको उनले बताए ।

शाहको यो अभिव्यक्तिलाई राजनीतिमा ‘काममुखी अभियान’ को संकेतका रूपमा हेरिएको छ । मतको अंकभन्दा पनि जनताको विश्वास र सहभागितालाई केन्द्रमा राख्ने उनको सन्देशले सभामा उपस्थित युवाहरूलाई विशेष रूपमा आकर्षित गरेको देखिन्थ्यो ।
यसले सुदूरपश्चिममा चुनावी बहसलाई भोटभन्दा कामतर्फ मोड्ने संकेत गरेको विश्लेषकहरूको भनाइ छ ।