धनगढीमा रवि लामिछानेको आक्रोशपूर्ण सम्बोधन : ‘बेथितिको सटर एकैपटक बन्द गर्छौं’

एक महिना अगाडि
धनगढीमा रवि लामिछानेको आक्रोशपूर्ण सम्बोधन : ‘बेथितिको सटर एकैपटक बन्द गर्छौं’

काठमाडौं ६ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने ले देशमा जरा गाडेको बेथिति, बेरोजगारी र अपूर्ण बाचाको राजनीतिलाई एकैपटक अन्त्य गर्ने उद्घोष गरेका छन् । सुदूरपश्चिमको धनगढी मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले रास्वपा सत्ता होइन, व्यवस्था सुधारको अभियान लिएर मैदानमा उत्रिएको बताए ।

लामिछानेले सटरको रूपक प्रयोग गर्दै भने, ‘बेथितिको सटर एकैपटक बन्द गर्न हामी राजनीतिमा आएका हौं । बेरोजगारीको सटर बन्द गर्ने हो, अल्झाएर राख्ने प्रवृत्तिको सटर बन्द गर्ने हो । सबै सटर एकैपटक बन्द गर्ने हो ।’ उनले मतदातालाई फागुन २१ को मतदानलाई केवल औपचारिक प्रक्रिया नभई परिवर्तनको अवसरका रूपमा लिन आग्रह गरे । ‘मतपत्रमा छाप लगाउने दिन फागुन २१ हो, तर अहिले मनपत्रमा छाप लगाउने बेला हो,’ उनले भने ।

उनले सुदूरपश्चिमको अधिकार र विकासका मुद्दा वर्षौंदेखि मागकै रूपमा सीमित भएको उल्लेख गर्दै अब काम रोकेर राख्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताए । पाँच वर्षको स्थिर सरकारको आवश्यकता औंल्याउँदै उनले जनतामाझ स्पष्ट जनादेशका लागि रास्वपाले अपिल गरिरहेको बताए ।

लामिछानेले चुनावी बाचा पूरा नगर्ने दल र नेताप्रति कटाक्ष गर्दै भने, ‘बाचा जसले गरेको हो सजाय उसैले पाउने हो, जनताले होइन ।’ उनका अनुसार जनताले भोगिरहेको निराशा, बेरोजगारी र परनिर्भरता राजनीतिक गैरजिम्मेवारीको परिणाम हो, जसलाई सच्याउन नयाँ सोच र प्रतिबद्धता चाहिन्छ ।

उनले भारतलगायत विदेशमा रोजगारी गरिरहेका सुदूरपश्चिमेलीहरूलाई विशेष अपिल गरे । ‘मलाई थाहा छ परदेश सजिलो छैन, तर सकेसम्म छुट्टि मिलाएर आउनुहोस् । यसपटक देश बदल्ने मौका छ । सँधै नेतामात्रै जितिरहेका छन्, अब जनताले जित्नुपर्छ,’ उनले भने ।

रास्वपा देशको राजनीतिक आकांक्षालाई केन्द्रमा राखेर अघि बढेको दाबी गर्दै लामिछानेले सुदूरपश्चिमबाट परिवर्तनको सन्देश दिन आग्रह गरे । उनको आक्रोशपूर्ण तर भावनात्मक सम्बोधनले सभामा उपस्थित समर्थकहरूलाई उत्साहित बनाएको थियो ।