निर्वाचन विशेष

मधेशको मञ्चबाट : जनकपुरधाममा गगनको राजनीतिक ‘रिसेट’

एक महिना अगाडि
मधेशको मञ्चबाट : जनकपुरधाममा गगनको राजनीतिक ‘रिसेट’

जनकपुरधाम । राजनीतिमा कहिलेकाहीँ भूगोल बदल्नु भनेको केवल नक्साको रेखा सार्नु होइन, सन्देश बदल्नु पनि हो। तीनपटक काठमाडौंबाट निर्वाचित भएका गगन थापा यसपटक सर्लाही–४ रोज्दै मधेशतर्फ झरेका छन्। तर जनकपुरधामको सभाले देखायो—यो केवल निर्वाचन क्षेत्रको यात्रा होइन, छविको पुनर्निर्माणको प्रयास पनि हो।

मधेश प्रदेशको राजधानी जनकपुरधाम मा आयोजित पहिलो चुनावी सभालाई कांग्रेसले साधारण शक्ति प्रदर्शन बनाएको छैन। यो कार्यक्रम ‘रिलन्च’ जस्तो बनाइएको थियो—स्लोगनमा ‘कांग्रेस–२.०’, भाषणमा ‘भिजन–१०’, र प्रस्तुतीकरणमा ‘पाँच वर्षमै परिवर्तन’ को आत्मविश्वास।

राजनीतिमा पहिलो सन्देश जहाँबाट जान्छ, त्यसले प्राथमिकता देखाउँछ । सानेपाबाट गर्ने भनिएको घोषणा अन्तिम समयमा जनकपुरधाम सार्नुले मधेशलाई चुनावी केन्द्रविन्दु बनाउने रणनीति देखायो। ३६ लाखभन्दा बढी मतदाता भएको प्रदेशमा राम्रो प्रदर्शन बिना संघीय राजनीतिमा निर्णायक हैसियत सम्भव छैन—कांग्रेसको गणित यही हो ।

केही साताअघि यही शहरमा राष्ट्रिय स्वतन्त्र पार्टी ले पनि सभा गरेर मधेशबाट नेतृत्व उदाउने संकेत दिएको थियो। कांग्रेसले त्यही तिरहुतीया गाछीमै उभिएर फरक शैलीमा जवाफ दियो—“बद्लिएको कांग्रेस, बदल्ने देश।”

थापाको सम्बोधन केवल आरोप–प्रत्यारोपमा सीमित थिएन। उनले संघीयता, रोजगारी, वैदेशिक श्रम, नयाँ पुस्ताको असन्तुष्टि—यी सबैलाई एउटै कथामा बाँध्ने प्रयास गरे। ‘मत होइन, विश्वास चाहिएको’ उनको भनाइ चुनावी नारा कम र मनोवैज्ञानिक अपिल बढी जस्तो सुनिन्थ्यो।

मञ्चमा उपसभापति विश्वप्रकाश शर्मा र नेता विमलेन्द्र निधि सँगै देखिनु अर्को सन्देश थियो—भित्रको विवाद थामिएको छ भन्ने देखाउन खोजिएको दृश्य।

२०६२/०६३ पछि मधेशमा कांग्रेसको आधार क्रमशः खस्किएको थियो। छुट्टै पहिचान र क्षेत्रीय राजनीति उदाएपछि पुरानो पकड कमजोर भयो। यसपटक भने भाषणमा इतिहास, सम्मान र प्रतिनिधित्वका शब्दहरू बढी सुनिए। मधेशलाई ‘मतको थलो’ भन्दा ‘नेतृत्वको भूमि’ भन्नु रणनीतिक थियो।

सभामा भीड थियो—बसमा आएका समर्थकदेखि स्वतः उपस्थित कार्यकर्तासम्म। तर चुनावी राजनीति केवल भीडले तय हुँदैन। प्रश्न अब यस्तो छ: यो ‘२.०’ को प्रस्तुति मतमा रूपान्तरण हुन्छ? सर्लाही झरेका गगनले मधेशमार्फत राष्ट्रिय नेतृत्वको बाटो बनाउँछन्?

जनकपुरधामको मञ्चले एउटा संकेत दिएको छ—कांग्रेस अब रक्षात्मक भाषामा छैन, आक्रामक पुनःस्थापनामा छ। अन्तिम फैसला भने फागुन २१ को मतपेटिकाले सुनाउनेछ।