कूटनीतिक तनाव चुलिँदै : अमेरिका–इरान सम्बन्ध पुनः युद्धको मोडमा ?

एक महिना अगाडि
कूटनीतिक तनाव चुलिँदै : अमेरिका–इरान सम्बन्ध पुनः युद्धको मोडमा ?

काठमाडौं ७ फागुन । मध्यपूर्व क्षेत्रमा फेरि एकपटक युद्धको बादल मडारिएको संकेत देखिएको छ। संयुक्त राज्य अमेरिका र इरानबीचको अप्रत्यक्ष वार्ता अपेक्षित परिणाममा नपुगेपछि सम्भावित सैन्य विकल्पबारे चर्चा तीव्र बनेको छ।

जेनेभामा भएको पछिल्लो अप्रत्यक्ष संवादपछि दुवै देशबीच मतभेद कायम रहेको बताइएको छ। अमेरिकी अधिकारीहरूले सहमतिको आधार अझै कमजोर रहेको बताएका छन् भने इरानले थप प्रस्ताव तयार पार्न समय मागेको जनाएको छ। कूटनीतिक प्रयास जारी रहे पनि सैन्य तयारी बढ्दै जाँदा क्षेत्रीय स्थायित्वप्रति चिन्ता बढेको छ।

अमेरिकी सञ्चारमाध्यमहरू द न्युयोर्क टाइम्स,सिएनएन र सिबिएस न्युजले अमेरिकी प्रशासनले सम्भावित सैन्य विकल्पमाथि आन्तरिक छलफल तीव्र बनाएको उल्लेख गरेका छन्। यी रिपोर्टहरूमा सेनाले आवश्यक तयारी पूरा गरिसकेको र अन्तिम निर्णय राजनीतिक नेतृत्वमा निर्भर रहेको जनाइएको छ।

यसैबीच अमेरिकी नौसेनाका विमानवाहक युद्धपोतहरू अब्राहम लिंकन र जेराल्ड फोर्ड मध्यपूर्व क्षेत्र नजिक तैनाथ गरिएका छन्। साथै अतिरिक्त लडाकु विमान, इन्धन बोक्ने ट्यांकर विमान तथा क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीहरू पनि परिचालन गरिएको बताइएको छ।

संभावित तनावलाई मध्यनजर गर्दै पेन्टागनले केही कर्मचारीलाई अस्थायी रूपमा अन्य स्थानमा सार्ने प्रक्रिया अघि बढाएको जनाइएको छ। विश्लेषकहरूका अनुसार यस्तो तयारीले आक्रमणको सम्भावनालाई मात्र होइन, प्रतिकारको जोखिमलाई पनि संकेत गर्छ।

इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले अमेरिका आक्रामक भए प्रतिकार गर्ने चेतावनी दिइसकेका छन्। उनले सामाजिक सञ्जालमार्फत अमेरिकी सैन्य शक्तिलाई चुनौती दिने सन्देश सार्वजनिक गरेका छन्।

उता अमेरिकी विदेशमन्त्री मार्को रुबिओ०को सम्भावित इजरायल भ्रमणले क्षेत्रीय समन्वयको संकेत दिएको छ। इजरायली नेतृत्वसँग सम्भावित रणनीतिक सहकार्यबारे छलफल हुन सक्ने अनुमान गरिएको छ।

अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञहरूका अनुसार कूटनीतिक संवाद अझै पूर्ण रूपमा टुटिसकेको छैन, तर सैन्य तयारीले वार्तालाई दबाबमूलक बनाएको छ। यस्तो अवस्थामा सानो गल्तीले पनि क्षेत्रीय द्वन्द्व चर्किन सक्ने जोखिम औंल्याइएको छ। विश्व समुदायले संयमता अपनाउन आह्वान गरिरहँदा, अमेरिका–इरान सम्बन्ध कुन दिशातर्फ मोडिने हो भन्ने प्रश्न यतिबेला अन्तर्राष्ट्रिय राजनीतिमा प्रमुख चासोको विषय बनेको छ।