नेपाली व्यवसायी सीपी खेतानले किने साढे ८ अर्बमा सिंगापुरमा बुटिक होटल

१० महिना अगाडि
नेपाली व्यवसायी सीपी खेतानले किने साढे ८ अर्बमा सिंगापुरमा बुटिक होटल

काठमाडौं ४ जेठ। नेपाली मूलका व्यवसायी चन्द्रप्रकाश सीपी खेतानले सिंगापुरको चर्चित बुटिक होटल खरिद गरेका छन् । हालै नेपाल र भारतको काल्सबर्गको स्वामित्व झण्डै एक खर्ब रुपैयाँमा बेचेर बाहिरिएका खेतानले सिंगापुरलाई आधार बनाएर नयाँ क्षेत्रहरुमा लगानी विस्तारको योजना बनाइरहेका छन् ।सोही क्रममा उनले ८० मिलियन सिंगापुर डलर ९झण्डै ८ अर्ब ४४ करोड नेपाली रुपैयाँ० मा डक्सटन रिजर्व होटल खरिद गरेको सिंगापुरका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

४९ वटा कोठा रहेको यो हेरिटेज बुटिक होटल खेतानको कम्पनी लोटस वान इन्भेष्टमेन्टले खरिद गरेको हो । यो होटल म्यारियट ग्रुप अन्तर्गतको अटोग्राफ कलेक्सन ब्राण्डको व्यवस्थापनमा सञ्चालन हुँदै आएको छ ।सन् २०१३ मा यो होटल सतिन्द्र गर्चाले ५० मिलियन सिंगापुर डलरमा खरिद गरी मर्मतसम्भार गरेर सञ्चालन गरेका थिए । खेतानले गर्चाबाट यो होटल खरिद गरेका हुन् ।

सीपी खेतानले किनेको डक्सटन रिजर्व होटल

खेतानले होटल र रियल स्टेट क्षेत्रमा दीर्घकालीन लगानीलाई प्राथमिकता दिएको र सोही रणनीतिअनुसार यो होटल खरिद गरिएको यो डिलमा सहभागी जेएलएल होटलले जनाएको छ । डक्सटन होटलको लिज अबधि अझै ६२ बर्ष बाँकी छ ।

नेपालका अग्रणी उद्यमी मोहनगोपाल खेतानका कान्छा छोरा सीपी खेतानले १५ वर्षयता सिंगापुरमा बसेर ब्यबसाय विस्तार गरिरहेका छन् ।