घोषणापत्रमाथि प्रत्यक्ष संवाद : आज राष्ट्रिय सभागृहमा कांग्रेसको खुला प्रश्नोत्तर

एक महिना अगाडि
घोषणापत्रमाथि प्रत्यक्ष संवाद : आज राष्ट्रिय सभागृहमा कांग्रेसको खुला प्रश्नोत्तर

काठमाडौं ७ फागुन । नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि सार्वजनिक गरेको चुनावी प्रतिज्ञापत्रबारे आज खुला प्रश्नोत्तर कार्यक्रम आयोजना गर्दैछ। पार्टीले जनकपुरमा सार्वजनिक गरेको प्रतिज्ञापत्रका विषयमा विस्तृत जानकारी दिन र नागरिकका जिज्ञासाको प्रत्यक्ष जवाफ दिन ‘हाम्रो प्रतिज्ञा, तपाईंको प्रश्न’ शीर्षकमा कार्यक्रम राखिएको हो। दिउँसो १ बजेदेखि राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा पार्टी सभापति गगनकुमार थापाले प्रत्यक्ष रूपमा प्रश्नहरूको उत्तर दिने कार्यक्रम तय गरिएको छ।

सभापति थापाले सामाजिक सञ्जालमार्फत राजनीतिक दलहरू जनताप्रति जबाफदेही हुनुपर्ने उल्लेख गर्दै प्रश्नबाट भाग्ने होइन, सामना गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। “तपाईंका प्रश्नको प्रत्यक्ष उत्तर दिन हामी राष्ट्रिय सभागृहमा उपस्थित हुनेछौँ,” उनले लेखेका छन्।

पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार प्रविधिको प्रयोग गरी देश तथा विदेशबाट पनि प्रत्यक्ष रूपमा प्रश्न सोध्न सकिने व्यवस्था मिलाइएको छ। कार्यक्रममा सभागृहमा उपस्थित सहभागीहरूबाट पनि प्रश्न लिइनेछ र त्यसको जवाफ सभापतिले दिनेछन्।

कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन भए आगामी पाँच वर्षमा गर्ने कामको खाका ‘भिजन टेन’ अन्तर्गत प्रतिज्ञापत्रमार्फत सार्वजनिक गरेको छ। उक्त दस्तावेजका विषयमा आम नागरिकले प्रत्यक्ष रूपमा प्रश्न राख्न पाउने व्यवस्था गरिएको हो।

चुनावी घोषणापत्रमाथि नागरिकसँग प्रत्यक्ष संवाद गरी नेतृत्वले सार्वजनिक रूपमा जवाफ दिने अभ्यास नेपाली राजनीतिक इतिहासमै पहिलोपटक हुन लागेको दाबी कांग्रेसले गरेको छ। कार्यक्रम सयौँ सञ्चार माध्यमबाट प्रत्यक्ष प्रसारण हुने जनाइएको छ।