काठमाडौं ७ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईँले पार्टीको पद तथा साधारण सदस्यताबाट राजीनामा दिएका छन्। बिहीबार सार्वजनिक गरिएको राजीनामापत्रमा उनले पार्टीभित्र संरचनागत विकृति बढ्दै गएको, आन्तरिक लोकतन्त्र कमजोर बनेको तथा आर्थिक अपारदर्शिता मौलाएको आरोप लगाएका छन्।
०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काभ्रे–२ बाट उम्मेदवार बनेका हुमागाईँले पछिल्लो समय पार्टीको निर्णय प्रक्रिया विधि, विधान र स्थापित मापदण्डभन्दा बाहिर गएको दाबी गरेका छन्। उनका अनुसार उम्मेदवार छनोट प्रक्रिया पारदर्शी र प्रतिस्पर्धात्मक नभई सीमित नेतृत्वको प्रभावमा सञ्चालन भएको छ। उनले लामो समयदेखि पार्टीमा सक्रिय र समर्पित कार्यकर्ताहरूलाई पाखा लगाउँदै अन्य दलबाट आएका व्यक्तिहरूलाई प्राथमिकता दिइएको गुनासो गरेका छन्।
हुमागाईँले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार चयन गर्दा स्पष्ट मापदण्ड नअपनाइएको उल्लेख गरेका छन्। उनले मोबाइल पसलमा काम गर्ने, गीत गाउने वा सामाजिक अभियन्ताको पहिचान बनाएका व्यक्तिहरूलाई पर्याप्त मूल्यांकनबिना उम्मेदवार बनाइएको आरोप लगाएका छन्। उनका अनुसार पार्टीको प्रारम्भिक समिति विस्तार हुँदै केन्द्रीय संरचनासम्म पुगे पनि त्यसको प्रक्रिया, औचित्य र मापदण्डबारे स्पष्ट पारदर्शिता देखिएको छैन।
राजीनामापत्रमा उनले सदस्यता शुल्क तथा उम्मेदवार आवेदन शुल्क व्यापक रूपमा सङ्कलन गरिए पनि त्यसको पारदर्शी लेखाजोखा सार्वजनिक नगरिएको बताएका छन्। प्रदेश र पालिका तहमा वितरण गरिने भनिएको रकमसमेत स्पष्ट रूपमा नदेखिएको उनको भनाइ छ।
हुमागाईँको राजीनामाले बागमती प्रदेशमा रास्वपाको आन्तरिक अवस्था र नेतृत्व शैलीबारे प्रश्न उठाएको छ। पार्टीले यस विषयमा औपचारिक प्रतिक्रिया सार्वजनिक गर्न बाँकी छ।