भ्रष्टाचारमा मुछिएका नेताहरुको कांग्रेसले मुखै हेर्दैन : गगन थापा

एक महिना अगाडि
भ्रष्टाचारमा मुछिएका नेताहरुको कांग्रेसले मुखै हेर्दैन : गगन थापा

काठमाडौँ ७ फागुन। नेपाली कांग्रेसका सभापति गगन कुमार थापा ले आगामी पाँच वर्षभित्र भ्रष्टाचारमुक्त नेपाल निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। उनले भ्रष्टाचारमा संलग्न व्यक्तिको नाता, पद वा नेता भएको हेर्दैनन् र उनीहरूलाई सार्वजनिक पदमा बस्न नदिने स्पष्ट घोषणा गरेका छन्।

७ फागुन, काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित ‘हाम्रो प्रतिज्ञा तपाईंको प्रश्न’ नामक प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रममा सभापति थापाले भने, “कांग्रेसले भ्रष्टाचारमा मुछिएका व्यक्तिको नाता वा पद हेरेर छुट दिने छैन। जोसुकै भए पनि यदि उसले भ्रष्टाचार गरेको प्रमाणित हुन्छ भने उसलाई सार्वजनिक पदमा बस्न अनुमति दिइने छैन।” उनले २०४७ साल यताका सबै पार्टीका नेताहरूमाथि भ्रष्टाचार छानबिन गर्ने पनि योजना रहेको जानकारी दिए।

थापाले सरकारी सेवा प्रणालीलाई अब कार्यालय केन्द्रित होइन, नागरिक केन्द्रित बनाउनुपर्नेमा जोड दिएका छन्। उनले स्पष्ट पार्दै भने, “कुन काम कति समयमा सकिन्छ भन्ने निर्धारण अनुसार सेवा उपलब्ध गराउनुपर्छ। समय ढिला भए नागरिकले क्षतिपूर्ति पाउनुपर्ने व्यवस्था हुनुपर्छ।

यसै क्रममा सभापति थापाले डिजिटल सार्वजनिक सेवा ७ दिन, २४ सै घण्टा उपलब्ध गराउने योजना पनि सार्वजनिक गरे। उनी डिजिटल प्रविधि प्रयोग, कानून संशोधन र भौतिक पूर्वाधार निर्माणमार्फत घरमै नागरिकलाई सेवा पुर्‍याउने व्यवस्था लागू गर्ने उद्देश्य राखेका छन्।

थापाका अनुसार, “सार्वजनिक सेवामा यदि एक दिनमा सेवा दिने भनियो भने त्यो एकै दिनमा पूरा हुनुपर्छ। एक घण्टामा सेवा उपलब्ध गराउने भनियो भने त्यो पनि एक घण्टाभित्रै हुनुपर्छ।” यसरी उनले सेवा पारदर्शिता, द्रुतता र जवाफदेहिता सुनिश्चित गर्न कांग्रेसले योजनाबद्ध कदम चाल्ने बताए।

उनको यस घोषणाले आगामी सरकार र प्रशासनिक सुधारमा कांग्रेसको दृष्टिकोण स्पष्ट गरेको छ, जहाँ भ्रष्टाचारमुक्त, पारदर्शी र नागरिकमैत्री सेवा प्रणाली निर्माण प्राथमिकता रहनेछ।