काठमाडौं ७ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उपसभापति स्वर्णिम वाग्ले ले पार्टीको वाचापत्र मध्यम वर्गलाई केन्द्रमा राखेर तयार गरिएको दाबी गरेका छन्। बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित वाचापत्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले लोकतन्त्रको स्थायित्वका लागि सशक्त र आशावादी मध्यम वर्ग अनिवार्य हुने बताएका हुन्।
वाग्लेले भने, “लोकतन्त्र सुरक्षित हुन मध्यम वर्गको आकार ठूलो हुनुपर्छ। मध्यम वर्ग सुरक्षित हुनुपर्छ र भविष्यप्रति आशावादी हुनुपर्छ। त्यसैले हाम्रो वाचापत्रको केन्द्रमा मध्यम वर्ग छ।” उनका अनुसार देशको आर्थिक, सामाजिक र राजनीतिक स्थायित्व मध्यम वर्गको विस्तारसँग प्रत्यक्ष जोडिएको छ।
उनले सुशासनलाई बलियो आधार बनाउँदै मध्यम वर्गको विस्तार, रोजगारी सिर्जना, गुणस्तरीय पूर्वाधार निर्माण र विदेशमा रहेका नेपालीका मुद्दालाई प्राथमिकतामा राखिएको जानकारी दिए। वैदेशिक रोजगारी, शिक्षा, स्वास्थ्य र व्यवसायमा मध्यम वर्गले भोगिरहेका चुनौतीलाई सम्बोधन गर्ने गरी योजना तयार गरिएको उनको दाबी छ।
उपसभापति वाग्लेले मध्यम वर्गलाई करको भार, रोजगारीको असुरक्षा, शिक्षा–स्वास्थ्यको महँगोपन र अवसरको अभावले थिचिएको उल्लेख गर्दै यी समस्याको समाधानका लागि व्यवहारिक र कार्यान्वयनयोग्य कार्यक्रम समेटिएको बताए। उनले आर्थिक अवसर विस्तार, उद्यमशीलता प्रवर्द्धन र सेवा प्रवाहमा सुधारमार्फत मध्यम वर्गलाई सुदृढ बनाउने लक्ष्य रहेको स्पष्ट पारे।
उनका अनुसार मध्यम वर्ग सशक्त भए मात्र लोकतान्त्रिक मूल्य–मान्यता बलियो हुन्छ र राजनीतिक स्थिरता सम्भव हुन्छ। त्यसैले रास्वपाको वाचापत्र मध्यम वर्गको भविष्य सुरक्षित गर्ने दिशामा केन्द्रित रहेको उनले दोहोर्याए।