जेनजी आन्दोलन राष्ट्रविरुद्ध योजनाबद्ध आक्रमण : केपी शर्मा ओली

एक महिना अगाडि
जेनजी आन्दोलन राष्ट्रविरुद्ध योजनाबद्ध आक्रमण : केपी शर्मा ओली

काठमाडौं ७ फागुन। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले जेनजी आन्दोलन राष्ट्रको सार्वभौमसत्ता र अस्तित्वमाथि योजनाबद्ध रूपमा गरिएको आक्रमण भएको आरोप लगाएका छन्। उनले उक्त घटनालाई ‘महाविनाश’ को संज्ञा दिँदै त्यसको अनुहार छोप्न केही तत्वहरूले ‘नयाँ शक्ति’को मुखुण्डो लगाएको दाबी गरेका छन्।

७ फागुनमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै ओलीले भदौ २४ गतेको घटना अप्रत्यासित नभएको उल्लेख गरे। “नेपाल राष्ट्रको सार्वभौमसत्ता र अस्तित्वमाथिको योजनाबद्ध आक्रमण हो,उनले भने, राष्ट्रविरुद्धको यति ठूलो महाअपराधको अनुहार छोप्न केही तत्वहरूले ‘नयाँ शक्ति’को मुखुण्डो लगाएका छन्। हामीले तिनलाई चिन्न ढिलो गर्नु हुँदैन।”

ओलीले पछिल्लो समय चर्चामा ल्याइएको पुस्तान्तर र अन्तरपुस्ता द्वन्द्वको अवधारणाप्रति पनि आपत्ति जनाए। “यो देश पुस्ताहरूबीचको द्वन्द्वले बनेको होइन, र द्वन्द्वले बन्दैन पनि,उनले स्पष्ट पारे। उनका अनुसार देश निर्माणका लागि युवा र अनुभवी पुस्ताबीच सहकार्य आवश्यक छ, द्वन्द्व होइन।

देश विकासका लागि युवाको ऊर्जा अपरिहार्य रहेको उल्लेख गर्दै उनले भने, देश बनाउन युवाको जोश, सपना र हिम्मत चाहिन्छ, जसले जस्तोसुकै कठिन पहाड पनि चढ्न सक्छ। साथै उनले अनुभवी पुस्ताको दृष्टि, संयम र मार्गदर्शन पनि उत्तिकै महत्वपूर्ण हुने बताए। युवाले ऊर्जा दिन्छ भने अग्रज पुस्ताले दिशा दिने भएकाले दुवैको सहकार्यबाट मात्रै राष्ट्र सुदृढ बन्न सक्ने उनको भनाइ छ।

ओलीको यस अभिव्यक्तिले जेनजी आन्दोलनप्रति एमालेको धारणा स्पष्ट पारेको छ। उनले राष्ट्रको एकता, स्थायित्व र सार्वभौमिकताको पक्षमा सजग रहन सबैलाई आह्वानसमेत गरेका छन्।