काठमाडौं ७ फागुन। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले कर्णालीको गरिबी र पीडालाई बुझ्ने राजनीतिक शक्ति बन्न चाहेको बताएका छन्। बिहीबार सुर्खेतमा आयोजित पार्टीको चुनावी वाचापत्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले कर्णालीलाई ‘शिवभूमि’को संज्ञा दिँदै वाचापत्र घोषणा गर्न पाउँदा खुसी लागेको बताए।
“शिव भगवानको पाउमा आएर वाचापत्र घोषणा गर्न पाउँदा खुसी छौँ,उनले भने। उनले कर्णालीको प्राकृतिक सौन्दर्य र ऐतिहासिक महत्व स्मरण गर्दै महेन्द्र ले रारा ताललाई ‘स्वर्गकी अप्सराको ठाउँ’ भनेको प्रसंगसमेत उल्लेख गरे। कर्णाली, यो देशको सबैभन्दा ठूलो रारा ताल भएको भूमि यहाँ आउन पाउँदा गर्व लागेको छ,उनले भने।
बालेनले कर्णालीका उत्पादनले उचित बजार नपाएको गुनासो गर्दै यार्सागुम्बा विश्व बजारमा पुग्न सक्ने भए पनि जुम्लाको स्याउ र मार्सी चामल देशका अन्य भागमा सहजै नपुगेको बताए। “डोल्पाको यार्सागुम्बा विश्वभर पुग्छ, तर कर्णालीको स्याउ र मार्सी चामल चितवन र झापा पुग्न सक्दैन,” उनले भने, “यस्ता उत्पादनलाई देशभर पुर्याउने पार्टी बन्न चाहन्छ रास्वपा।”
उनले सिञ्जा सभ्यता, नेपाली भाषा र खस भाषाको उद्गमस्थलको संरक्षणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए। कर्णालीको सभ्यता, संस्कृति र पहिचान जोगाउँदै आर्थिक अवसर विस्तार गर्ने लक्ष्य रहेको उनले बताए। कर्णालीको दुःख र गरिबी बेच्ने नेता धेरै आए, तर बुझ्ने नेता आएनन्,” बालेनले भने, “त्यो बुझ्ने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी।”