इजरायली आक्रमण, गाजामा ३६ जनाको मृत्यु

६ महिना अगाडि
इजरायली आक्रमण, गाजामा ३६ जनाको मृत्यु

काठमाडौं ४ जेठ । इजरायली सेनाले गाजामा बमबारी जारी राखेको छ । पछिल्लो समय ‘सुरक्षित क्षेत्र’ भनिएको अल–मावासीमा आक्रमण गरेको छ ।उक्त आक्रमणमा कम्तीमा ३६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था  अलजजिराले जनाएको छ ।
इजरायलले गाजामा थप आक्रमणको तयारी गरिरहेका बेला यो आक्रमण भएको हो । पछिल्लो समय इजरायली सेनाले स्थल आक्रमणलाई विस्तार गर्ने तयारी गरिरहेको  । यसैबेला कतारमा हमाससँग युद्धविराम वार्ता पनि चलेको छ ।

यसैबीच, इराकको राजधानी बग्दादमा भेला भएका अरब देशका नेताहरूले गाजामाथिको युद्ध तत्काल अन्त्य गर्न माग गरेका छन् ।उनीहरूले गाजामा मानवीय सहायता पुर्‍याउन अन्तर्राष्ट्रिय समुदायसँग हस्तक्षेपको अपिल गरेका छन् ।गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा अहिलेसम्म ५३ हजार २७२ जना प्यालेस्टाइनीको मृत्यु भएको छ । एक लाख २० हजार ६७३ जना घाइते भएका छन् ।

गाजाको सरकारी सञ्चार कार्यालयले मृत्यु सङ्ख्या अझ बढ्दै गएको जनाउँदै ६१ हजार ७०० भन्दा बढीको मृत्यु भएको अनुमान गरेको छ । भग्नावशेषमा पुरिएका हजारौं मानिसहरू अझै बेपत्ता छन् ।

यता, हमासले सन् २०२३ को अक्टोबर ७ मा इजरायलमा गरेको आक्रमणमा एक हजार १३९ जनाको ज्यान गएको थियो भने २०० भन्दा बढी व्यक्तिहरूलाई अपहरण गरिएको इजरायलको दाबी छ ।