धरहराभित्र निर्माण गरिएको पार्किङको व्यवस्थापन महानगरले गर्ने

एक महिना अगाडि
धरहराभित्र निर्माण गरिएको पार्किङको व्यवस्थापन महानगरले गर्ने

काठमाडौं ८ फागुन । काठमाडौं महानगरपालिकाले ऐतिहासिक धरहरा क्षेत्रको व्यवस्थापनमा आफ्नो भूमिका विस्तार गर्ने तयारी गरेको छ। पहिलो चरणमा धरहराभित्र निर्माण गरिएको सवारी साधन पार्किङको सञ्चालन तथा व्यवस्थापन महानगरले सम्हाल्ने भएको छ।

शुक्रबार नेपाल सरकार र महानगरबीच भएको छलफलपछि पार्किङ सञ्चालनको जिम्मेवारी महानगरलाई दिने सहमति जुटेको हो। नयाँ व्यवस्थाअनुसार पार्किङको सञ्चालन, सुरक्षा र दैनिक व्यवस्थापनको काम महानगर प्रहरी बलले गर्नेछ। यसलाई धरहराको समग्र व्यवस्थापन महानगरतर्फ हस्तान्तरण गर्ने प्रक्रियाको सुरुवातका रूपमा हेरिएको छ।

बैठकले धरहरा क्षेत्रको दीर्घकालीन सञ्चालन मोडालिटी तय गर्न संयुक्त समिति गठन गर्ने निर्णय पनि गरेको छ। सहरी विकास मन्त्रालय र महानगरले तोकेका प्रतिनिधि सम्मिलित समितिले अध्ययन–विश्लेषण गरी विस्तृत प्रतिवेदन तयार पार्नेछ। सोही प्रतिवेदनका आधारमा धरहराको पूर्ण व्यवस्थापन हस्तान्तरणबारे थप निर्णय गरिनेछ।

महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल ले बाहिरी संरचनासम्बन्धी आवश्यक काम महानगरले गर्ने सहमति भएको बताउँदै समग्र सञ्चालनको अधिकार पनि महानगरलाई दिन संघीय सरकारसँग आग्रह गरिएको जानकारी दिइन्।

यता, सहरी विकास मन्त्री कुमार इङ्नामले बाहिरी संरचनाको आर्थिक दायित्व महानगरले वहन गर्ने र पार्किङ व्यवस्थापन तत्काल कार्यान्वयनमा जाने बताए। पूर्ण हस्तान्तरणका लागि आवश्यक मोडालिटी बनाउन समिति गठन गरिने उनको भनाइ छ। धरहराको व्यवस्थापन मोडालिटीबारे भइरहेको यो समन्वयले संघीय सरकार र स्थानीय सरकारबीचको जिम्मेवारी बाँडफाँटलाई नयाँ ढंगले परिभाषित गर्ने संकेत गरेको छ।