घोराहीमा रवि लामिछानेको चुनौती : मलाई जेल हाल्नेहरू यहीँ छन्, जनताले जवाफ दिनेछन्

एक महिना अगाडि
घोराहीमा रवि लामिछानेको चुनौती : मलाई जेल हाल्नेहरू यहीँ छन्, जनताले जवाफ दिनेछन्

काठमाडौं ८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने ले आफूलाई संसद्बाट हटाए पनि जनताको मनबाट हटाउन नसकिने बताएका छन्। शुक्रबार दाङको घोराहीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफूविरुद्ध राजनीतिक षड्यन्त्र भएको आरोप लगाए।

रास्वपाले सभा गरेको घोराही दाङ क्षेत्र नम्बर–२ अन्तर्गत पर्छ, जहाँ नेपाल कम्युनिस्ट पार्टी एमालेका महासचिव शंकर पोखरेल उम्मेदवार छन्। लामिछानेको अभिव्यक्ति प्रत्यक्ष रूपमा पोखरेलतर्फ लक्षित मानिएको छ।

सभामा बोल्दै लामिछानेले आफू सुशासन र पारदर्शिताका पक्षमा काम गरिरहेको बेला योजनाबद्ध रूपमा संसद्बाट निकालिएको टिप्पणी गरे। ‘रास्वपा जनताको पक्षमा उभिने, सुशासनको वकालत गर्ने पार्टी हो,’ उनले भने, ‘हामी सरकारमा रहँदा बा र उहाँका प्रिय पात्रहरूले मलाई जेल पुर्‍याए। सक्छन् भने जनताको मनबाट हटाएर देखाऊन्।’

उनले ‘बा’ शब्दमार्फत केपी शर्मा ओली तर्फ संकेत गरेका थिए। लामिछानेले आफूलाई जेल पठाउनेहरूलाई फागुन २१ गते हुने चुनावबाटै जनताले जवाफ दिने दाबी गरे। ‘सुशासनका पक्षमा काम गरिरहेको सांसदलाई, भ्रष्टाचारका फाइल खोल्न लागेका बेला मध्यरातमा प्रहरीको बुट बजार्दै जेल पुर्‍याउनेहरू यही क्षेत्रबाट चुनाव लड्दैछन् भन्ने सुनेको छु,उनले भने, ‘अब जनताले नै देखाउनेछन्।

उनको भनाइले दाङ–२ को चुनावी प्रतिस्पर्धा थप चर्किने संकेत दिएको छ। रास्वपाले यस क्षेत्रलाई प्रतिष्ठाको प्रतिस्पर्धाका रूपमा लिएको देखिन्छ भने एमालेका तर्फबाट महासचिव स्वयं उम्मेदवार बनेकाले चुनावी माहोल अझ तातिएको छ।