काठमाडौ ५ जेठ । सामसङले हालै सार्वजनिक गरेको अति पातलो फोन एस २५ एज निर्माणमा एप्पलको आईफोन १७ एयरको कुनै प्रभाव नरहेको स्पष्ट पारेको छ । गत साता ग्यालेक्सी एस २५ एजको बारेमा जानकारी दिने क्रममा कम्पनीका स्मार्टफोन उत्पादन विशेषज्ञ कादेश बेकफोर्डले यस्तो बताएका हुन् ।
“यो आईफोन १७ एयरसँग सम्बन्धित छैन । यो फोन बनाउन हामीले हरेक पाटपुर्जालाई पातलो बनावटमा अट्ने गरी पुनः डिजाइन गर्नुपरेको हो जुन पक्कै पनि सजिलो काम होइन,” बेकफोर्डले भनेका थिए । ग्याजेट्स रिभ्युअरले सामसङको एस २५ एजलाई आईफोन १७ एयरसँग तुलना गरिरहे पनि कम्पनीले आधिकारिक रूपमा यस फोनका कुनै जानकारी बाहिर ल्याएको छैन । तर, विभिन्न देशका लिकरहरूले वर्षोंदेखि यसको चर्चा गर्दै आएका छन् ।
यस वर्षको सेप्टेम्बरमा यो मोडेल सार्वजनिक हुने अपेक्षा गरिएको छ । आईफोन १७ एयर र सामसङ एस २५ एजमा कुन फोन केमा राम्रो भन्ने जान्न चाहनु हुन्छ भने यहाँ क्लिक गर्न सक्नुहुन्छ ।
यो नयाँ डिभाइस ५।८ एमएम पातलो छ । यो मोडेल सामसङको अहिलेसम्मकै सबैभन्दा पातलो ग्यालेक्सी एस स्मार्टफोन भएको कम्पनीको दाबी छ । यसलाई सफल बनाउन कम्पनीले २०० मेगापिक्सेल क्यामेरा लगायत हरेक पाटपुर्जालाई सानो ठाउँमा अट्ने गरी विशेष तरिकाले मिलाएको छ ।
बेकफोर्डका अनुसार यसका लागि आरएन्डडी ९अनुसन्धान र विकास० मा लामो समय लागेको छ । यो भनेको एप्पलको आईफोन १७ एयरको हल्ला सुरु हुनुभन्दा धेरै अघिदेखि नै यसमा काम सुरु भइसकेको थियो । “मैले ग्यालेक्सी जेड फ्लिप ५ सार्वजनिक भएको हप्ता ९अगस्ट २०२३० देखि नै एजको बारेमा थाहा पाएको थिएँ,” उनले कार्यक्रममा भने ।
चर्चामा आएको एप्पलको पातलो फोन आईफोन १७ एयरबाट प्रभावित नभएको भन्दै कम्पनीले दाबी गरे पनि यसमा केही समानता हुन सक्ने देखिन्छ । लिक भएका जानकारी अनुसार आईफोन १७ एयरमा केवल एउटा ४८ मेगापिक्सेल लेन्ससहितको सामान्य क्यामेरा, ५ देखि ६ एमएमको बीचको मोटाइ हुनेछ । यसको मूल्य भन्ने प्रो म्याक्स मोडेलको तुलनामा निकै कम हुनेछ ।
यदि सामसङ आफ्नो प्रतिस्पर्धी एप्पलको पातलो स्मार्टफोनबाट प्रभावित भएको होइन भने कम्पनीले एस २५ सिरिजमै किन नयाँ मोडेल ल्यायो रु बेकफोर्डका अनुसार कम्पनीको बजार अनुसन्धान टिमले ‘अल्ट्रा’ फोन चाहने तर मोटो भएकाले प्रयोग गर्न हिचकिचाउने प्रयोगकर्ताका लागि यो फोन ल्याउने योजना बनाएको थियो । त्यसैले यसमा २०० मेगापिक्सेल क्यामेरा, स्न्यापड्रागन ८ एलिट चिपसेट र टाइटेनियम फ्रेम उपलब्ध गराइएको छ ।
एजमा ग्यालेक्सी एस २५ का ग्यालेक्सी एआई सुइट फिचर पनि दिइएको छ । त्यसका साथै १२ मेगापिक्सेल अल्ट्रा(वाइड लेन्स र १२ मेगापिक्सेल सेल्फी सेन्सर पनि यसमा समावेश गरिएको छ ।
एस २५ एजको ब्याट्रीलाई लिएर भने प्रयोगकर्ताले गुनासो गरेका छन् । फोन पातलो बनाउने बहानामा कम्पनीले ब्याट्रीमा सम्झौता गरेको भन्दै आलोचना भइरहेको छ । यसमा कम्पनीले ३९०० एमएएच क्षमताको ब्याट्री उपलब्ध गराएको छ । यो भनेको ग्यालेक्सी एस २५ अल्ट्राको भन्दा ११०० एमएएच सानो हो । पातलो फोन ट्रेन्डमा आएदेखि चिपको दक्षता र सफ्टवेयर अप्टिमाइजेसनमा धेरै सुधार भएको देखिन्छ । तर, तिन फोनको कमजोर ब्याट्री लाइफले नै प्रयोगकर्तामाझ राम्रो प्रभाव पार्न नसकेको प्रवृत्ति छ ।
अब ग्यालेक्सी एस २५ एजको पनि त्यस्तै नियति हुन्छ वा यसले पातला ह्यान्डसेटका लागि नयाँ मार्ग स्थापना गर्छ भन्ने हेर्न बाँकी छ ।