सप्तरी । उपेन्द्र यादवले सङ्घीयता विरोधी शक्तिहरू प्रदेश संरचना खारेज गरी मधेशी जनतालाई पुनः अधिकारविहीन बनाउन सक्रिय रहेको आरोप लगाएका छन्।
जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का अध्यक्षसमेत रहेका यादवले सप्तरी क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारका रूपमा शुक्रबार डाक्नेश्वरी नगरपालिका–८ पट्टीमा आयोजित जनसभालाई सम्बोधन गर्दै मधेशी जनतालाई सचेत रहन आग्रह गरे।
उनले मधेश जनविद्रोहबाट स्थापित सङ्घीयता खारेज गर्ने षड्यन्त्र भइरहेको दाबी गर्दै भने, “सङ्घीयता विरोधी पार्टीहरूले प्रदेश खारेज गरेर मधेशी, महिला, दलित, आदिवासी, जनजाति, थारु, मुस्लिमलगायत पछाडि पारिएका समुदायको अधिकार खोस्न चाहेका छन्।”
कांग्रेस र कम्युनिष्ट दलहरूको इच्छाविपरीत देशमा सङ्घीयता आएको उल्लेख गर्दै उनले आफूलाई नयाँ शक्ति भन्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि प्रदेश खारेजीको पक्षमा रहेको आरोप लगाए। गत निर्वाचनमा प्रदेशसभामा उम्मेदवारीसमेत नदिएको रास्वपाको “भ्रममा नपर्न” उनले मतदातालाई आग्रह गरे।
यादवले हरेक राजनीतिक परिवर्तनमा सप्तरीको भूमिका निर्णायक रहे पनि विभेदकारी नीतिका कारण अपेक्षित विकास हुन नसकेको बताए। गरिबी, बेरोजगारी, अशिक्षा, सडक, गुणस्तरीय शिक्षा र स्वच्छ खानेपानीको अभाव अझै कायम रहेको उल्लेख गर्दै उनले सही जनप्रतिनिधि चयन गर्न नसक्नु पनि पछाडि पर्नुको कारण भएको टिप्पणी गरे।
आफू सप्तरी–२ बाट निर्वाचित हुँदा विराटनगरभन्दा ठूलो सुविधासम्पन्न अस्पताल भवन, कृषि विश्वविद्यालय, इन्जिनियरिङ कलेज, नर्सिङ कलेज भवन, रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, पक्की सडक र विद्यालय भवनलगायतका काम अघि बढाएको दाबी उनले गरे। ती आयोजनालाई पूर्णता दिन आफूलाई निरन्तरता दिनुपर्नेमा जनताले मौका नदिएको उनले बताए।
“त्यतिबेला सुरु गरेका काम पछिल्ला जनप्रतिनिधिले अगाडि बढाएनन्, कृषि विश्वविद्यालय भवनको शिलान्यासमै अवरोध पुर्याइयो, अहिले पनि बजेट निकासा हुन सकेको छैन,” उनले भने।
आगामी निर्वाचन संविधान संशोधनमार्फत सङ्घीयतालाई अधिकारसम्पन्न बनाउने र मधेशीसहित उपेक्षित समुदायको भविष्य निर्धारण गर्ने अवसर भएकाले गम्भीरतापूर्वक मतदान गर्न उनले अपिल गरे।
शुक्रबारै डाक्नेश्वरी नगरपालिका अन्तर्गत प्रवाहा, धामी टोल, भीमपुर र बिसहरियालगायत स्थानमा आयोजित सभालाई पनि यादवले सम्बोधन गरेको जसपा नेपालका केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साहले जानकारी दिएका छन्।