सर्लाही ९ फागुन । मधेस क्षेत्रमा आफ्नो संगठन विस्तारलाई तीव्र बनाउँदै नेपाली कांग्रेस ले सर्लाहीमा प्रभावशाली स्थानीय नेतालाई पार्टीमा भित्र्याएको छ। सर्लाही–४ अन्तर्गत पर्ने बलरा नगरपालिकाका पूर्वमेयर अभयकुमार सिंह कांग्रेस प्रवेश गरेका छन्। पछिल्लो समय लोकतान्त्रिक समाजवादी पार्टी मा सक्रिय रहेका सिंहलाई कांग्रेसका सभापति गगनकुमार थापा ले उनकै निवासमा आयोजित कार्यक्रममा स्वागत गरेका हुन्। कार्यक्रममा जिल्लास्तरीय नेताहरूको पनि उपस्थिति रहेको थियो।
२०७४ सालको स्थानीय तह निर्वाचनमा सिंह तत्कालीन राष्ट्रिय जनता पार्टी बाट ४ हजार ३ सय २७ मत ल्याई बलरा नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। २०७९ को निर्वाचनमा भने राजपाको विभाजनपछि लोसपाबाट उम्मेदवार बनेका उनी नेकपा माओवादी केन्द्र का उम्मेदवार रामाशंकर कुशवाहासँग १ हजार १२ मतान्तरले पराजित भएका थिए।
सर्लाही–४ मा यसअघि पनि लोसपाका नेता तथा पूर्व संविधानसभा सदस्य केदारनन्दन चौधरीसहित अन्य नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश गरिसकेका छन्। यसलाई मधेस क्षेत्रमा कांग्रेसले आफ्नो आधार पुनः विस्तार गर्ने रणनीतिका रूपमा हेरिएको छ। स्थानीय तहदेखि प्रदेश र संघीय निर्वाचनसम्म प्रभाव पार्ने उद्देश्यसहित कांग्रेसले प्रभावशाली व्यक्तित्वहरूलाई पार्टीमा भित्र्याउने अभियानलाई तीव्र बनाएको संकेत देखिएको छ।