काठमाडौं ९ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटका नेता अशोककुमार थापा ले पार्टी परित्याग गरेका छन्। उनले शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत औपचारिक रूपमा पार्टी छाडेको घोषणा गरेका हुन्।
थापाले पार्टी आफ्नो मूल विचार र सिद्धान्तबाट विचलित हुँदै गएको आरोप लगाएका छन्। नेतृत्व चयन प्रक्रिया नीतिगत आधारभन्दा ‘आशीर्वाद’का आधारमा हुन थालेको भन्दै उनले असन्तुष्टि जनाएका छन्। संगठन निर्माणमा निरन्तर खटिएका कार्यकर्तालाई पाखा लगाउने प्रवृत्ति बढेको र पार्टी क्रमशः अलोकतान्त्रिक बन्दै गएको उनको दाबी छ। यस्तो अवस्थामा पार्टीमा बस्नुको औचित्य नरहेको उल्लेख गर्दै उनले अलग हुने निर्णय लिएको बताएका छन्।
थापा २०७९ सालको निर्वाचनयता रास्वपा नुवाकोटको जिल्ला सदस्य तथा विदुर नगर इन्चार्जका रूपमा सक्रिय थिए। उनी २०७९ मा नुवाकोट क्षेत्र नम्बर–२ बाट उम्मेदवार बनेका रास्वपा नेता सुमनबिक्रम पाण्डे निकट मानिन्थे।
उनको बहिर्गमनलाई नुवाकोटको स्थानीय राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ। पार्टीभित्र संगठनात्मक असन्तुष्टि सतहमा आएको संकेतका रूपमा समेत विश्लेषण भइरहेको छ। रास्वपाले भने यसबारे औपचारिक प्रतिक्रिया दिएको छैन।