काठमाडौं ९ फागुन । रौतहटको सदरमुकाम गौरमा दुई समुदायबीच झडप नरोकिएपछि जिल्ला प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय रौतहट ले शनिबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्म लागू हुने गरी कर्फ्यु घोषणा गरेको हो।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार गौर नगरपालिकाका विभिन्न क्षेत्रमा आवतजावत, भेला, सभा, जुलुस तथा प्रदर्शनमा पूर्ण प्रतिबन्ध लगाइएको छ। पूर्वमा मुडवलवा गेट, पश्चिममा ललवैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालय गेटसम्मको क्षेत्रमा कर्फ्यु लागू गरिएको छ। आदेश उल्लङ्घन गर्नेलाई कानुनबमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जारी गरेको सूचनामा उल्लेख छ।

गौर नगरपालिका–६ सवगढामा सहमतिविपरीत पुनः विवाद चर्किँदा शनिबार बिहानदेखि ढुंगा–मुढा हुन थालेको थियो। यसअघि प्रशासनको पहलमा दुवै पक्षबीच ६ बुँदे सहमति भएको थियो। तर सहमति कार्यान्वयनमा नआएपछि अवस्था तनावग्रस्त बनेको हो।
स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल का सयौँ सुरक्षाकर्मी परिचालन गरिएको छ। घटनास्थलमा जिल्ला प्रहरी प्रमुख एसपी सिताराम रिजाल र सशस्त्र प्रहरीका एसपी रामहरि अधिकारी खटिएका छन्।
प्रशासनले सर्वसाधारणलाई घरभित्रै बस्न र अफवाहमा नलाग्न आग्रह गरेको छ। जिल्लामा सुरक्षा सतर्कता उच्च पारिएको छ।