काठमाडौं ९ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव जित्न नसक्ने निष्कर्ष निकालेपछि तनाव सिर्जना गर्ने गतिविधि सुरु गरेको आरोप लगाएका छन्। शनिबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले रास्वपाका पछिल्ला गतिविधि अभद्र, अमर्यादित र अशोभनीय देखिएको बताए। उनका अनुसार केही दिनयताका घटनाक्रमले रास्वपा चुनाव भाँड्ने मनस्थितिमा पुगेको संकेत दिएको छ।
‘मलाई के लाग्छ भने, रास्वपाले चुनाव जितिन्नँ भन्ने निष्कर्ष निकालेको जस्तो देखिन्छ। त्यसैले झण्डा जलाउने, तनाव बढाउने र अवाञ्छित व्यवहार देखाउने काम भइरहेको छ,ओलीले भने। उनले रास्वपा आफ्नो पक्षमा नतिजा आए चुनाव लड्ने र नआए चुनाव हुनै नदिने प्रवृत्तिमा देखिएको आरोप लगाए।
ओलीले निर्वाचन बलजफ्ती गर्ने विषय नभएको उल्लेख गर्दै स्वच्छ प्रतिस्पर्धा, शान्तिपूर्ण वातावरण र निष्पक्ष प्रक्रिया सुनिश्चित हुनुपर्ने बताए। मतदाताले कुनै डर वा अवरोधबिना आफ्नो मताधिकार प्रयोग गर्न पाउनुपर्नेमा उनले जोड दिए।
मतदानअघि देखिका सबै प्रक्रिया, मतगणना र परिणाम घोषणा पारदर्शी हुनुपर्ने उनको भनाइ थियो। निष्पक्ष र धाँधलीरहित निर्वाचनका लागि आफ्नो पार्टी सधैं प्रतिबद्ध रहेको उनले दाबी गरे।