काठमाडौं ९ फागुन । नेपाली कम्युनिष्ट पार्टी वरिष्ठ नेता झलनाथ खनाल ले आगामी फागुन २१ गतेको निर्वाचनलाई आफ्नो पार्टीका लागि ‘रणनीतिक कार्यभार’ मात्र भएको बताएका छन्। शनिबार वाम बुद्धिजीवी तथा पेशाकर्मी निर्वाचन परिचालन मूल समितिको कार्यक्रममा बोल्दै उनले पार्टीको अन्तिम लक्ष्य समाजवाद स्थापना नै भएको स्पष्ट पारे।
यो चुनाव त एउटा रणनीतिक कार्यभार मात्रै हो, खनालले भने, ‘हामी चुनावमा लागेका छौँ हाम्रो कार्यदिशा, नीति, सिद्धान्त र कार्यक्रम जनतामाझ पुर्याउन।’ उनका अनुसार निर्वाचन समाजवादको आवश्यकताबारे जनमत निर्माण गर्ने, क्रान्तिकारी सोच विस्तार गर्ने र पार्टी संगठन सुदृढ गर्ने माध्यम हो।
खनालले चुनावबाट बहुमत प्राप्त गरेर सरकार बनाउने लक्ष्य रहेको बताए। बहुमत नआए समाजवादका पक्षधर, प्रगतिशील र देशभक्त शक्तिहरूसँग सहकार्य गरेर सरकार गठन गर्न सकिने उनले उल्लेख गरे। तर ‘प्रतिक्रियावादी शक्तिसँग साँठगाँठ गर्नु कम्युनिस्ट वर्ग दृष्टिकोणको अन्त्य हो’ भन्दै उनले त्यस्तो सम्भावनालाई अस्वीकार गरे।
यदि प्रतिपक्षमा बस्नुपरे सडक र सदन दुवैबाट समाजवादको आधार निर्माणका लागि संघर्ष जारी राख्ने उनको भनाइ थियो। ‘बहुमत नआए पनि आन्दोलन रोकिन्न, जनतालाई जागरूक र आवश्यक परे आन्दोलित गरिन्छ,उनले भने। अर्को निर्वाचनमा बहुमत प्राप्त गर्ने आशा सधैं जीवित रहने उनको विश्वास छ।