काठमाडौं ९ फागुन । गौर मा भड्किएको दुई समुदायबीचको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा प्रहरीले जनमत पार्टी का जिल्ला संयोजक शेख जमशेदलाई पक्राउ गरेको छ।
गौर नगरपालिका–६ सवगढाबाट सुरु भएको विवादमा संलग्न रहेको आरोपमा उनलाई घरबाटै नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालय लगिएको प्रहरीले जनाएको छ। उनी सोही वडाका पूर्व अध्यक्षसमेत हुन्।
बिहीबार साँझ मस्जिदको बाटो हुँदै जन्तीको गाडी गएपछि सुरु भएको विवादले हिंसात्मक रूप लिएको थियो। शुक्रबार दिनभरको झडपपछि प्रशासनले दुवै पक्षबीच ६ बुँदे सहमति गराएको थियो। तर शनिबार बिहानदेखि पुनः सवगढामै झडप चर्किएको हो, जसपछि प्रशासनले विभिन्न क्षेत्रमा कर्फ्यु लगाएको छ।
प्रहरी स्रोतका अनुसार घटनामा शेख जमशेदको संलग्नताका केही प्रमाण फेला परेको दाबी गरिएको छ। यद्यपि प्रशासनले यसबारे औपचारिक प्रतिक्रिया दिएको छैन। स्वयं जमशेदले भने आफूलाई घरबाटै प्रहरीले नियन्त्रणमा लिएको बताएका छन्।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालका अनुसार झडपमा हालसम्म १० जना सामान्य घाइते भएका छन्। २० जनालाई पक्राउ गरिएको छ भने ७ मोटरसाइकल र १ जीप आगजनीका कारण नष्ट भएका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले ५० भन्दा बढी अश्रुग्यास प्रहार गरेको र दर्जनौं राउन्ड हवाई फायरसमेत गरेको जनाएको छ।