बालेन्द्र शाह लाई लक्षित गगनथापाको कटाक्ष : रुखमा झुन्ड्याएर विकास हुँदैन

एक महिना अगाडि
बालेन्द्र शाह लाई लक्षित गगनथापाको कटाक्ष : रुखमा झुन्ड्याएर विकास हुँदैन

काठमाडौं ९ फागुन । नेपाली कांग्रेस का सभापति गगन थापा ले विकासको गति कसैलाई रुखमा झुन्ड्याएर नबढ्ने टिप्पणी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह लाई लक्षित गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

शनिबार सर्लाहीमा आयोजित कार्यक्रममा बोल्दै थापाले कानुनी संरचना सुधारबिना छिटो विकास सम्भव नहुने बताए। अहिले काम नगरे रुखमा झुन्ड्याइदिन्छु भन्ने भाषा सुनिन्छ,’उनले भने, ‘तर यस्तो चिन्तनले सुधार होइन, दुर्घटना निम्त्याउँछ।’ सबैलाई दोषी ठहर गर्दै तर्साएर मात्रै विकासले गति नलिने उनको भनाइ थियो।

केही दिनअघि रास्वपाले धनगढीमा आयोजित चुनावी सभामा समयमै काम नगर्ने ठेकेदारलाई ‘रुखमा झुन्ड्याइदिने’ अभिव्यक्ति दिएको थियो। त्यसप्रति प्रतिक्रिया दिँदै थापाले लोकतान्त्रिक विधि र कानुनी सुधारमार्फत मात्र सुशासन र विकास सम्भव हुने बताए।

थापाले सडक समयमा किन बन्दैन भन्ने विषयमा ‘पूर्वाधार मीमांसा’ कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए। हुलाकी राजमार्गलगायतका परियोजनाको स्थलगत अध्ययनपछि आफूले कानुनी अवरोधहरू पहिचान गरेको उनले बताए।

उनका अनुसार कम्तीमा ४१ वटा कानुनले पूर्वाधार निर्माणमा अवरोध सिर्जना गरिरहेका छन्। ‘सस्तोमा काम गर्छु भन्नेलाई होइन, गुणस्तरीय र छिटो काम सक्छु भन्नेलाई ठेक्का दिने कानुन नबनाउँदासम्म काम समयमा सकिँदैन,उनले भने।

ऊर्जा परियोजनाका प्रवर्द्धकले लाइसेन्स लिएपछि २७ वटा निकाय धाउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले प्रक्रियालाई एकीकृत गर्नुपर्नेमा जोड दिए। २७ ठाउँमा जाने कानुन हटाएर एकै ठाउँबाट अनुमति दिने व्यवस्था गरियो भने मात्रै कामको गति सुरु हुन्छ, उनले भने।