काठमाडौं ९ फागुन । नेपाल कम्युनिष्ट पार्टी संयुक्त का कार्यबाहक अध्यक्ष घनश्याम भूसाल ले फागुन २१ गते हुने निर्वाचनले मुलुकको विद्यमान संकट समाधान नगर्ने बताएका छन्। शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त निर्वाचन आवश्यकता भन्दा बाध्यता भएको टिप्पणी गरे।
यो निर्वाचन जनताले चाहेको होइन, असाधारण संवैधानिक तथा लोकतान्त्रिक परिस्थितिका कारण अपरिहार्य बनेको हो, उनले भने। उनका अनुसार पुराना नेताहरूको ‘नालायकी’ बोकेर हुने निर्वाचनले अंकगणितीय परिवर्तन ल्याए पनि मुलुकको मूल समस्या समाधान गर्न सक्दैन।
भूसालले परनिर्भर विकास मोडेल, दलाल पुँजीवाद र विचौलिया तन्त्रलाई देशको मूल समस्या बताए। नयाँ वा पुराना कुनै पनि शक्तिले जनताको वास्तविक माग सम्बोधन नगर्ने दाबी गर्दै उनले निर्वाचनपछि झन् जटिलता बढ्न सक्ने आशंका व्यक्त गरे।
उनले केपी शर्मा ओली, शेरबहादुर देउवा,पुष्पकमल दाहाल र माधव कुमार नेपाल को नेतृत्वकै कारण वर्तमान अवस्था सिर्जना भएको आरोप लगाए। नेपाली कांग्रेसभित्र गगन थापाको उदय देउवाको विकल्प खोज्ने संकेत भएको उनले टिप्पणी गरे।
कम्युनिष्ट आन्दोलनको सन्दर्भमा भूसालले नीति र सिद्धान्तका आधारमा विभाजनको ठोस कारण नरहेको तर नेतृत्व नै मुख्य समस्या भएको बताए। कमरेड ओली र कमरेड प्रचण्डले सक्रिय राजनीतिबाट बाहिरिने घोषणा गरेको दिन एक हप्तामै लेफ्ट मुभमेन्ट एक हुन्छ,उनले दाबी गरे। साथै, प्रचण्ड नेतृत्वको नेकपा माओवादी र माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीबीचको एकता वैचारिकभन्दा पनि व्यक्तिगत स्वार्थबाट प्रेरित भएको उनको आरोप थियो।