रौतहट तनाव : केन्द्रीय सुरक्षा समितिको बैठकद्वारा सबै पक्षलाई उच्च संयमता अपनाउन आग्रह

एक महिना अगाडि
रौतहट तनाव : केन्द्रीय सुरक्षा समितिको बैठकद्वारा सबै पक्षलाई उच्च संयमता अपनाउन आग्रह

काठमाडौं ९ फागुन । रौतहटमा दुई समुदायबीचको विवादपछि उत्पन्न तनावपूर्ण अवस्थाबारे संघीय सरकारले उच्चस्तरीय चासो देखाएको छ। शनिबार दिउँसो बसेको केन्द्रीय सुरक्षा समिति को बैठकले एकातिर सबै पक्षलाई उच्च संयमता अपनाउन आग्रह गरेको छ भने अर्कोतिर दोषीमाथि कडाइका साथ कारबाही अघि बढाउने निर्णय गरेको छ।

गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेका अनुसार बैठकमा चारवटै सुरक्षा निकायका प्रमुख सहभागी थिए। बैठकले रौतहटमा सामाजिक सद्भाव कायम राख्न स्थानीय तहदेखि सुरक्षा संयन्त्रसम्म सक्रिय समन्वय गर्न निर्देशन दिएको छ। ‘जिल्ला सुरक्षा समितिलाई सबै निकायसँग सहकार्य गरेर प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन भनिएको छ, काफ्लेले बताए।

रौतहटको सदरमुकाम गौर आसपास क्षेत्रमा बिहीबार रातिदेखि दुई समूहबीचको विवाद चर्किँदै गएपछि स्थिति तनावग्रस्त बनेको थियो। शुक्रबार दिनभर झडप र वार्ताको क्रम चले पनि शनिबार बिहान पुनः तनाव बढेपछि स्थानीय प्रशासनले दिउँसो १ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ। कर्फ्युका कारण आवतजावत, भेला, जुलुस तथा प्रदर्शनमा रोक लगाइएको छ।

बैठकले घटनाको निष्पक्ष छानबिन गरी दोषी पहिचान गर्न र कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउन पनि सम्बन्धित निकायलाई निर्देशन दिएको छ। स्रोतका अनुसार केन्द्रले अवस्थालाई गम्भीर रूपमा लिएर दैनिक प्रतिवेदन लिन थालेको छ, ताकि परिस्थिति थप जटिल नबनोस्।

सुरक्षा विश्लेषकहरूका अनुसार केन्द्रको यो सन्देश दोहोरो छ । एकातिर संयमता र सद्भाव कायम गर्न अपिल, अर्कोतिर कानुनी कडाइमार्फत सम्भावित अराजकता रोक्ने प्रयास। स्थानीय प्रशासन, प्रहरी र सशस्त्र प्रहरी बललाई आवश्यक स्रोतसाधन उपलब्ध गराउने विषयमा पनि छलफल भएको बताइएको छ।

रौतहटमा शान्ति र स्थिरता कायम राख्न सामुदायिक नेतृत्व, राजनीतिक दल र नागरिक समाजको भूमिका महत्वपूर्ण हुने ठानिएको छ। केन्द्रले संवाद र समन्वयमार्फत समाधान खोज्नुपर्नेमा जोड दिँदै, हिंसात्मक गतिविधिमा संलग्न जो–कोहीलाई कानुनको दायरामा ल्याइने स्पष्ट संकेत दिएको छ।