सप्तरी । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा संघीय प्रणालीको दिगोपन मधेशको बलियो राजनीतिक उपस्थिति र निरन्तर खबरदारीमा निर्भर रहेको बताएका छन् । संघीयताको जननी नै मधेश भएको उल्लेख गर्दै उनले मधेशको संघर्ष, बलिदान र लामो आन्दोलनकै परिणामस्वरूप देशमा संघीय व्यवस्था स्थापित भएको स्मरण गराए ।
सप्तरीको चुनावी अभियानका क्रममा आइतबार आयोजित सभालाई सम्बोधन गर्दै उनले संघीयतालाई असफल देखाउने, प्रदेशको अधिकार कटौती गर्ने तथा पुनः केन्द्रिकृत शासन व्यवस्थातर्फ फर्काउने प्रयास भइरहेको आरोप लगाए । “संघीयतालाई कमजोर पार्ने अनेकन प्रयास भइरहेका छन्, तर मधेश जागरुक र संगठित रह्यो भने त्यस्ता कुनै पनि षड्यन्त्र सफल हुँदैनन्,” उनले भने ।
सप्तरी जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहेका यादवले संघीयता माथि भइरहेको ‘प्रहार’प्रति गम्भीर चिन्ता व्यक्त गरे । उनका अनुसार केही शक्तिहरू संघीय संरचनालाई क्रमशः कमजोर बनाउँदै अन्ततः समाप्त गर्ने रणनीतिमा सक्रिय छन् ।
“मुलुकमा संघीयता धानिएकै मधेश प्रदेशको दृढ अडानका कारण हो । मधेशले आवाज उठाएन भने संघीयता कागजमै सीमित हुन सक्छ,” उनले भने, “अधिकारको रक्षा र स्वाभिमानको संरक्षणका लागि मधेश सधैं अग्रपंक्तिमा उभिएको छ ।”
यादवले मधेशलाई राजनीतिक, आर्थिक र प्रशासनिक रूपमा सुदृढ बनाउनु आजको अपरिहार्य आवश्यकता भएको उल्लेख गरे। मधेशको शक्तिलाई कमजोर पार्ने कुनै पनि प्रयास अन्ततः संघीय व्यवस्थालाई कमजोर पार्ने प्रयास हुने उनको भनाइ थियो ।
चुनावी सभाको अन्त्यमा अध्यक्ष यादवले संघीयताको रक्षा, प्राप्त अधिकारको सुनिश्चितता तथा आत्मसम्मानको संरक्षणका लागि मतदानमार्फत् जसपा नेपाललाई बलियो जनमत दिन मतदातासमक्ष अपिल गरे।