फ्लोरिडा । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित निजी निवास मार-ए-लागो परिसरमा सशस्त्र युवक प्रवेश गर्ने प्रयास गर्दा सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएको छ। घटना आइतबार मध्यरातपछि स्थानीय समयअनुसार करिब साढे १ बजे भएको जनाइएको छ।
मार–ए–लागो पाम बिच क्षेत्रमा रहेको राष्ट्रपतिको निजी तथा शीतकालीन निवास हो। सन् १९२७ मा निर्माण गरिएको उक्त भवन डोनाल्ड ट्रम्पले सन् १९८५ मा खरिद गरेका थिए। राष्ट्रपति रहँदा उनले यही स्थानमा विदेशी नेताहरू, व्यवसायी तथा विभिन्न व्यक्तित्वहरूसँग भेटघाट गर्ने गरेका छन्।
अधिकारीहरूका अनुसार २१ वर्षीय अस्टिन टी. मार्टिन नामका युवक बन्दुक र इन्धन भरिएको कनस्तर बोकेर परिसरभित्र प्रवेश गरेका थिए। उनी उत्तर क्यारोलाइना राज्यबाट सवारीसाधन चलाएर फ्लोरिडा पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। सुरक्षागेटबाट एक पाहुना बाहिरिँदै गर्दा उनले सोही अवसरमा भित्र पस्ने प्रयास गरेको बताइएको छ।
राष्ट्रपतिको सुरक्षामा खटिएको गोप्य सुरक्षा सेवाका सुरक्षाकर्मीहरूले उनलाई रोक्न र हतियार तल राख्न आदेश दिएका थिए। तर उनले बन्दुक प्रयोग गर्ने संकेत देखाएपछि सुरक्षाकर्मीले गोली चलाएका थिए। घटनास्थलमै उनको मृत्यु भएको पुष्टि गरिएको छ। घटनामा अन्य कोही घाइते भएका छैनन्। घटनाका बेला राष्ट्रपति ट्रम्प सो स्थानमा उपस्थित नरहेको जनाइएको छ।
घटनापछि ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलाइन लेभिटले सुरक्षाकर्मीले छिटो र निर्णायक रूपमा काम गरेको बताएकी छन्। उनले राष्ट्रपति र उनका परिवार सुरक्षित रहेको जानकारी दिएकी छन्।
यसैबीच अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले राष्ट्रपतिसँग कुराकानी भएको र सुरक्षा व्यवस्था सुदृढ रहेको बताएका छन्। घटनाको उद्देश्य, पृष्ठभूमि र सम्भावित योजना सम्बन्धमा संघीय निकायहरूले अनुसन्धान जारी राखेका छन्।