धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिकै गएराति भएको बस दुर्घटनामा १७ जनाको ज्यान गएको छ।
पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको बस गएराति करिब १ बजे त्रिशूली नदी किनारमा खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा ११ जना पुरुष र ६ जना महिलाको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ। मृतकमध्ये एक पुरुष र एक महिला विदेशी नागरिक रहेको खुलेको छ।
बसमा चालकसहित ४४ जना सवार थिए। दुर्घटनामा घाइते भएका २८ जनाको उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको छ। केही घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने अधिकांशलाई थप उपचारका लागि काठमाडौँ पठाइएको जनाइएको छ।
दुर्घटनालगत्तै जिल्लाका तीनवटै सुरक्षा निकाय तथा स्थानीय बासिन्दाले संयुक्त रूपमा उद्धार कार्य सञ्चालन गरेका थिए। उद्धारका लागि सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुनिल गिरीको कमाण्डमा टोली खटिएको थियो। साथै, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको विशेष टोली परिचालन गरिएको थियो।
दुर्घटनाको कारण भने हालसम्म खुलेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। प्रहरीले घाइते २८ जनाको नामावली सार्वजनिक गरेको छ।