उत्तर कोरियामा निरन्तर नेतृत्व : किम जोङ उन पुनः महासचिव, कार्यकारी समितिमा व्यापक हेरफेर

एक महिना अगाडि
उत्तर कोरियामा निरन्तर नेतृत्व : किम जोङ उन पुनः महासचिव, कार्यकारी समितिमा व्यापक हेरफेर

काठमाडौं ११ फागुन । उत्तर कोरिया को सत्तारुढ वर्कर्स पार्टी अफ कोरिया ले किम जोङ उनलाई पुनः महासचिवमा सर्वसम्मत चयन गरेको छ। राज्य सञ्चालित कोरियन सेन्ट्रल न्युज एजेन्सी केसीएनएले पार्टी महासभाबाट उक्त निर्णय भएको जनाएको हो।

किम परिवारले सन् १९४० को दशकको अन्त्यदेखि देशमा शासन गर्दै आएको सन्दर्भमा किमको पुनर्नियुक्ति अपेक्षित मानिएको छ। तर यसपटकको महासभामा कार्यकारी समितिमा भने उल्लेखनीय फेरबदल गरिएको बताइएको छ। बीबीसीका अनुसार सन् २०२१ को अघिल्लो बैठकयता ३९ सदस्यीय कार्यकारी समितिका आधाभन्दा बढी सदस्य परिवर्तन गरिएका छन्। यसलाई पार्टीभित्र शक्ति सन्तुलन पुनर्संरचना गर्ने कदमका रूपमा विश्लेषण गरिएको छ।

सन् २०११ मा पिता किम जोङ इल को निधनपछि सत्तामा आएका किम जोङ उन ले आफ्नो कार्यकालमा आणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएका छन्। केसीएनएले उनको नेतृत्वमा देशको युद्ध प्रतिरोध क्षमता उल्लेखनीय रूपमा सुदृढ भएको दाबी गरेको छ, जसको केन्द्रमा आणविक शक्ति रहेको बताइएको छ।

लामो समयदेखि अन्तर्राष्ट्रिय प्रतिबन्धको सामना गरिरहेको उत्तर कोरियाले अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षणलाई निरन्तरता दिँदै आएको छ। यद्यपि बन्द शासन प्रणालीका कारण वास्तविक सैन्य प्रगतिबारे स्वतन्त्र मूल्यांकन गर्न कठिन हुने विश्लेषकहरू बताउँछन्।

फेब्रुअरी १९ देखि सुरु भएको महासभालाई देशकै सबैभन्दा महत्वपूर्ण राजनीतिक कार्यक्रम मानिन्छ। करिब पाँच हजार प्रतिनिधि सहभागी उक्त बैठकबाट विदेश नीति, अर्थतन्त्र र रक्षा रणनीतिबारे आगामी दिशानिर्देश आउने अपेक्षा गरिएको छ। महासभामा किमले देशको अर्थतन्त्र सुदृढ गर्ने र जनताको जीवनस्तर उकास्ने प्रतिबद्धता व्यक्त गर्दै यसलाई ‘गम्भीर र ऐतिहासिक कार्यभार’को संज्ञा दिएका छन्।

यस पुनर्नियुक्तिले शीर्ष नेतृत्वमा निरन्तरता देखाए पनि कार्यकारी तहमा गरिएको हेरफेरले आगामी दिनमा नीति तथा शक्ति संरचनामा केही परिवर्तनको संकेत दिएको छ।