भियतनामी उपराष्ट्रपतिको नेपाल भ्रमण स् द्विपक्षीय बैठक सुरु

३ महिना अगाडि
भियतनामी उपराष्ट्रपतिको नेपाल भ्रमण स् द्विपक्षीय बैठक सुरु

काठमाडौं, ८ भदौ। समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनको नेपाल भ्रमणको क्रममा नेपाली उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग काठमाडौंमा द्विपक्षीय बैठक सुरु भएको छ।शनिबार नेपाल आएकी सुआनले आज बिहान उपराष्ट्रपति यादवसँग भेट गरेलगत्तै प्रतिनिधिमण्डलस्तरीय बैठक सुरु भएको हो। सुआनको यो भ्रमण नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५०औं वार्षिकोत्सवको अवसरमा भएको हो।

शनिबार नेपाल आउनासाथ सुआनले परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेट गरेकी थिइन्। भेटमा मन्त्री राणाले भियतनामबाट पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा उडान सुरु गर्न प्रस्ताव गरेकी थिइन्। यसले भियतनामबाट नेपाल आउने पर्यटकको संख्यामा वृद्धि हुने विश्वास नेपाल पक्षको रहेको छ। द्विपक्षीय बैठकमा यो प्रस्ताव पनि प्रमुख रूपमा उठाइएको छ।

भियतनामी उपराष्ट्रपति सुआनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। भेटमा दुई देशबीचको सम्बन्ध सुदृढ पार्ने, आर्थिक, सांस्कृतिक र पर्यटन क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

सोमबार उपराष्ट्रपति सुआनले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नेछिन्। त्यस्तै, उनले पाटन दरबार स्क्वायर, स्वयंभूनाथ स्तूप लगायतका ऐतिहासिक तथा धार्मिक स्थलको अवलोकन गर्ने कार्यक्रम रहेको छ। भ्रमण सम्पन्न गरेपछि उनी स्वदेश फर्किनेछिन्।

यो भ्रमण नेपालमा भियतनामको तर्फबाट भएको पहिलो उच्चस्तरीय भ्रमण हो, जसले दुई मित्र राष्ट्रबीचको सम्बन्ध थप बलियो बनाउने अपेक्षा गरिएको छ।