उपेन्द्र यादवको प्रश्न : मधेश आन्दोलन हुँदा बालेन कहाँ हुनुहुन्थ्यो ?

एक महिना अगाडि
उपेन्द्र यादवको प्रश्न : मधेश आन्दोलन हुँदा बालेन कहाँ हुनुहुन्थ्यो ?

काठमाडौं ११ फागुन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव ले मधेशी अधिकारको आन्दोलनका सन्दर्भमा बालेन्द्र शाह बालेनमाथि प्रश्न उठाएका छन्। उनले मधेशको मुद्दामा बालेनको स्पष्ट धारणा सार्वजनिक रूपमा नदेखिएको टिप्पणी गरे।

सोमबार रुपन्देहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यादवले भने,मधेशी जनताको अधिकारका लागि आन्दोलन भइरहँदा उहाँ कहाँ हुनुहुन्थ्यो ?उनका अनुसार राष्ट्रिय राजनीतिमा पनि बालेनको वैचारिक स्पष्टता देखिँदैन। दर्शन के हो, मुद्दा के हो, राष्ट्रिय एजेन्डा के हो भन्नेबारे स्पष्ट धारणा सुन्न पाइँदैन, उनले आरोप लगाए।

यादवले मधेश, आदिवासी जनजाति, दलित, मुस्लिम, थारू, पिछडा वर्ग र महिलाका मुद्दा उठाउने दल जसपा नै भएको दाबी गरे। सामाजिक सञ्जालमा देखिने समर्थन र वास्तविक जनआधार फरक हुने उनको भनाइ थियो। घण्टी हल्लाउँदैमा जनता हल्लिँदैनन्, ग्राउन्ड रियालिटी फरक छ,उनले भने।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका यादवले विगत ३५ वर्षदेखि कांग्रेस र कम्युनिस्ट नेतृत्वका सरकारले कृषि, शिक्षा, स्वास्थ्य र उद्योग क्षेत्रमा अपेक्षित सुधार गर्न नसकेको आरोप लगाए। उनले ठूला दलहरू एकअर्काको पार्टी फुटाउने राजनीतिमा केन्द्रित भएको टिप्पणी पनि गरे।

संविधानका विषयमा बोल्दै उनले समयक्रमसँगै यसको त्रुटि पुष्टि हुँदै गएको दाबी गरे र संशोधन अपरिहार्य भएकोमा जोड दिए। उनका अनुसार पहिचान, अधिकार र समावेशितासम्बन्धी सवाल समाधान नगरेसम्म राष्ट्रिय एकता र विकास सम्भव हुँदैन।

कार्यक्रममा पार्टीका वरिष्ठ नेता तथा रुपन्देही क्षेत्र नम्बर ४ का उम्मेदवार सर्वेन्द्रनाथ शुक्लाले मधेश आन्दोलनका क्रममा संयमित रूपमा आन्दोलन अघि बढाइएको स्मरण गरे। “राज्यको अर्थतन्त्र जोगाउनुपर्छ भन्नेमा हामी सधैं सचेत थियौं,” उनले भने।

यादव रुपन्देहीको कोटहीमाई गाउँपालिका–७ परसहवामा आयोजना हुने आमसभालाई सम्बोधन गर्न त्यहाँ पुगेका हुन्।