निर्वाचन विशेष

सर्लाही–४ मा गगन थापाको ९ बुँदे प्रतिज्ञामा के छ ?

एक महिना अगाडि
सर्लाही–४ मा गगन थापाको ९ बुँदे प्रतिज्ञामा के छ ?

सर्लाही। नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापाले आफ्ना सर्लाही क्षेत्र नम्बर-४ का मतदातालाई लक्षित गर्दै नौ बुँदे चुनावी प्रतिज्ञा सार्वजनिक गरेका छन्। उनले स्थानीय प्राथमिकतामा आधारित छुट्टै योजना सार्वजनिक गरेका हुन् ।

थापाले मधेसलाई लोकतान्त्रिक आन्दोलनको आधारभूमि उल्लेख गर्दै सर्लाहीका मुद्दालाई राष्ट्रिय बहस र नीतिगत प्राथमिकतामा पुर्‍याउने प्रतिबद्धता जनाएका छन्। “स्थानीय समस्या समाधान नगरी समृद्धिको कुरा अधुरो हुन्छ,” उनले मतदातासँग भनेका छन्।

गाउँस्तरको अनुभवबाट बनेको एजेन्डा

हुलाकी राजमार्ग संवाद कार्यक्रमका क्रममा सर्लाहीका विभिन्न गाउँबस्ती पुगेको उल्लेख गर्दै थापाले अलपत्र पुल, डुबानको जोखिम, जीर्ण सडक, नहर तथा आधारभूत सेवाको अभाव प्रत्यक्ष देखेको बताएका छन्। स्थानीय समुदायसँगको छलफलपछि तयार गरिएको योजना नै प्रतिज्ञापत्रको आधार भएको उनको दाबी छ।

शिक्षा : ‘कापी–कलम’देखि ‘सबल छोरी’सम्म

‘कापी–कलम अभियान’ अन्तर्गत गणित, विज्ञान र अंग्रेजी विषयका शिक्षक व्यवस्थापन, विद्यालयलाई प्रविधिमैत्री बनाउने, विपन्न तथा दलित विद्यार्थीलाई छात्रवृत्ति दिने र प्राविधिक शिक्षा विस्तार गर्ने योजना अघि सारिएको छ। छोरीहरूको शिक्षामा निरन्तरता र नेतृत्व विकासका लागि ‘सबल छोरी अभियान’ सञ्चालन गर्ने उल्लेख गरिएको छ।

स्वास्थ्य : निःशुल्क उपचारदेखि विशेष केन्द्रसम्म

‘स्वस्थ नागरिक अभियान’ अन्तर्गत स्थानीय स्वास्थ्य संस्थामा जनशक्ति र उपकरण विस्तार, प्रत्येक पालिकामा स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना, सर्पदंश र कालाजारको निःशुल्क उपचार, मोबाइल क्लिनिक सेवा तथा कुपोषण न्यूनीकरण कार्यक्रम सञ्चालन गरिने योजना छ। मधेसमै आधुनिक उपकरणसहित मिर्गौला उपचार केन्द्र स्थापना गर्ने लक्ष्य पनि समेटिएको छ।

कृषि : उखु बक्यौता र मल कारखाना पहल

‘कृषि उत्थान, किसान गौरव अभियान’ अन्तर्गत उखु किसानको बक्यौता भुक्तानी, मल–बिउको सहज आपूर्ति, शीत भण्डार निर्माण, न्यूनतम समर्थन मूल्य सुनिश्चित गर्ने तथा सहुलियत ऋण उपलब्ध गराउने प्रतिबद्धता गरिएको छ। सर्लाहीमै आपत्कालीन मल भण्डार स्थापना र मधेसमा मल कारखाना ल्याउन पहल गर्ने उल्लेख छ।

बाढी नियन्त्रण : तटबन्ध र अर्ली वार्निङ

बागमती क्षेत्रको तटबन्ध निर्माण, मनुस्मरा नहर बाँध मर्मत, अर्ली वार्निङ प्रणाली जडान, वृक्षारोपण र पानी संरक्षण कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ। चुरे संरक्षण अभियान सञ्चालन गर्ने प्रतिबद्धता पनि जनाइएको छ।

रोजगारी र सीमा व्यवस्थापन

‘मिसन रोजगारी अभियान’ मार्फत सीप विकास तालिम, रोजगार सूचना केन्द्र, युवा उद्यमशीलता प्रवर्द्धन तथा वैदेशिक रोजगारी व्यवस्थापन कार्यक्रम अघि सारिएको छ। भारतसँग जोडिएको करिब ३० किलोमिटर सीमाक्षेत्रमा ‘दशगजा उज्यालो अभियान’ सञ्चालन गरी हाईमास्ट सौर्य बत्ती जडान, छोटी भन्सार व्यवस्थापन र सीमावर्ती गाउँमा विशेष विकास कार्यक्रम ल्याउने योजना रहेको बताइएको छ।

महिला, दलित र सुशासन

महिलाका लागि सहुलियत कर्जा, घरेलु हिंसा तथा बालविवाहविरुद्ध अभियान, दलित समुदायका लागि शिक्षा–रोजगारी कार्यक्रम, साथै स्थानीय भाषा, कला, संस्कृति र धार्मिक स्थल संरक्षणका कार्यक्रम पनि प्रतिज्ञामा समेटिएका छन्।

थापाले क्षेत्रमै ‘जनता दलान’ नामक सांसद कार्यालय स्थापना गरी नागरिकसँग प्रत्यक्ष संवाद र समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन्। सुशासन र दीर्घकालीन विकासका लागि आफूलाई समर्थन गर्न उनले मतदातासँग आग्रह गरेका छन्।